पोखरामा ट्राफिक जाम बढ्दो, आकाशेपुल निर्माणमा अलमल – Nepal Press

पोखरामा ट्राफिक जाम बढ्दो, आकाशेपुल निर्माणमा अलमल

पोखरा । पोखरा पृथ्वीचोक केन्द्र भएर दैनिक एक लाख बढी संख्यामा साना तथा ठूला सवारी साधन गुड्छन् । सवारी साधनको अत्यधिक चाप हुँदा पछिल्लो समय पोखरामा ट्राफिक जाम बढेको छ ।

विशेषगरी पोखराको पृथ्वीचोक, सिर्जनाचोक, महेन्द्रपुल, सभागृह चोकलगायत ठाउँमा गाडी तथा यात्रुको बाक्लो आउजाउ हुँदा अत्यधिक जाम हुने गर्छ । जामलाई व्यवस्थपान गर्न पोखरा महानगरले आर्थिक वर्ष ०७५/७६ मा एक करोड रुपैयाँ विनियोजन गर्यो । विनियोजित बजेटको उद्धेश्य थियो, ‘व्यस्त चोकमा आकाशेपुल बनाउने, जाम घटाउने ।’

आकाशेपुलका लागि तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले सांसद पूर्वाधार विकास कोषबाट ५० लाख रुपैयाँसमेत विनियोजन गरिसकेका थिए । शुरुमा ३ ठाउँमा आकाशे पुल बनाउने भनिए पनि पछि महानगरको योजना सिर्जना चोकमा मात्र सीमित भयो ।

सिर्जना चोकमा आकाशे पुल बनाउन उक्त आर्थिक वर्षको अन्तिम समय जेठमा १५ महिनाभित्र सक्ने गरी महानगरले केएम/जेबिएनएस पोखरा जेबीसँग सम्झौता गर्यो । ०७६ जेठ ५ गते सम्झौता भएको सम्झौताअनुसार २०७७ साउन २७ गते निर्माण सक्ने लक्ष्य थियो ।

तर, निर्धारित समयमा काम शुरु हुन सकेन । सम्झौता भएको करिब ५ महिना अर्थात् मंसिरमा मात्रै आकाशे पुलको शिलान्यास भयो । पुलको शिलान्यास गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । अहिले कुल २ करोड ३० लाख ११ हजारको लागतमा सिर्जनाचोकमा ‘स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज’ निर्मार्णाधीन छ ।

सम्झौताबमोजिम समयमै आकासे पुल नबनेपछि महानगरले वैैशाखसम्मका लागि समयावधि थप गरेको छ । तर, वैशाखसम्म पनि पुल निर्माणको काम नसकिने देखिएको महानगरकै प्राविधिक बताउँछन् ।

आकाशे पुलका लागि राखिने पोल बिजुलीको पोलभन्दा अग्लो हुने र त्यसलाई हटाउन विद्युत् प्राधिकरणले ढिलाइ गरेका कारण काम सुस्त बनेको पोखरा ८ वडाध्यक्ष रुद्रनाथ बराल बताउँछन् । ‘पोल हटाउन प्राधिकरणसँग स्वीकृति लिनुपर्छ । स्वीकृति लिएर पनि प्राधिकरणले लामो समयसम्म पोल हटाइदिएन, त्यसले धेरै ढिलो भयो,’ उनले भने ।

पुलका लागि आवश्यक १६ मिटर उचाइको पोल पाउन गाह्रो भएको र त्यसलाई डिजाइन गरेर बनाउन दिँदा पनि काममा ढिलाइ भएको अध्यक्ष बरालको भनाइ छ । उनले भने, ‘त्यो उचाइको पोल यहाँ नपाइने रहेछ । डिजाइन गरेर प्राविधिकलाई बनाउन लगाउँदा ढिलो भयो ।’

थपिएको म्याद सकिन २ महिनामात्रै बाँकी हुँदा आकासे पुलको जम्मा ६० प्रतिशत भौतिक प्रगति पूरा भएको इन्जिनियर राजु रेग्मीको भनाइ छ । ‘ग्राउन्ड लेबलका सबै काम पूरा भइसकेका छन् । अब बाँकी भनेको फिटिङको मात्रै काम हो,’ भने, ‘अब धमाधम काम सुरु हुन्छ ।’

सम्झौताबमोजिम वैशाखमै काम नसकिए पनि चालु आर्थिक वर्षभित्रै सक्ने गरी महानगर लागिरहेको रेग्मीले सुनाए । उनले भने, ‘बीचमा कोरोनाका कारण पनि ढिलाइ भाथ्यो, अहिले विद्युतले पोल पनि हटाइसक्यो । समयमै पुल निर्माण हुन्छ । नभए यही आर्थिक वर्षको अन्त्यमा जसरी पनि सक्ने भनेका छौं ।’

एक ठाउँबाट चढेर चारै दिशाबाट सजिलै ओर्लन सकिने गरी पुलको डिजाइन गरिएको महानगरको भनाइ छ । पुलका लागि जमिनमुनी सिमेन्ट र माथि बन्ने सबै संरचनामा स्टिल प्रयोग गरिँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर