दैलेख घटना: थप दुईको शव भेटियो, कान्छी छोरी बेपत्ता – Nepal Press

दैलेख घटना: थप दुईको शव भेटियो, कान्छी छोरी बेपत्ता

दैलेख । दैलेखको आठबिस नगरपालिका -३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनको ८ वर्षीय छोरा ललितको शव पनि फेला परेको छ । प्रहरी र स्थानीयको बिहानैदेखिको खोजीका कारण साढे ११ बजे आमाछोराको शव फेला परेको प्रहरीले जनाएको छ ।

कर्णाली नदीमा हाम्फालेकी सुकीसहित दुई छोरी र एक छोरासहित चार जनाको शव फेला परिसकेको छ भने पाँच वर्षीया रजनी बडुवालको शव अहिलेसम्म फेला परेको छैन ।

यसैबीच पाँच जनाको आत्महत्या भएको खबरसँगै डीआईजी वसन्तकुमार पन्त घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत अध्ययन गर्न आएको उनको भनाइ छ । सोमबार नै दुई छोरीको शव फेला परिसकेको थियो ।

आमा सुकीले छोरालाई आफूसँगै कपडाले बाँधेर नदीमा हाम्फालेको प्रहरीको अनुमान छ । उनको श्रीमान् मानबहादुर बडुवाल प्रहरी नियन्त्रणमा छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सुकीले सोमबार श्रीमान्सँग झगडा परेपछि चार छोराछोरीसहित कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेकी थिइन् ।

वडाध्यक्ष प्रयागबहादुर शाहीका अनुसार आइतबार दिउँसो श्रीमान् मानबहादुर बडुवाललाई बजारमा लिन गएकी सुकी बडुवाल आइतबार राति नै घरबाट छोराछोरीसहित निस्किएकी थिइन् ।

‘उनी आइतबार राति नै घरबाट निस्किएकी थिइन् । श्रीमानले मदिरा सेवन गर्ने गरेका थिए । शायद घरझगडा भएको हुनुपर्छ’ वडाध्यक्ष शाहीले भने, ‘साथमा उनले तीन छोरी र एक छोरालाई समेत लगेर गएकी रहिछन् । सोमबार साँझ दुई छोरीको शव फेला परेपछि मात्रै पाँचै जनाले कर्णालीमा हाम्फालेको हामीले थाहा पायौं ।’

मध्यपहाडी लोकमार्गको अछाम जोड्ने पुल भन्दा दुई सय मिटर माथि पाँचै जनाको चप्पल नदी किनारमा भेटिएकाले पाँचै जनाले कर्णालीमा हाम्फालेको उनले बताए । दुई छोरीको शव डोरीले हात बाँधिएको अवस्थामा सोमबार राति फेला परेको थियो ।

जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाका अनुसार सोमबार साँझ छोरीहरु १६ वर्षीया कल्पना बडुवाल, १२ वर्षकी सरिता बडुवालको शव फेला परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर