पेरिसडाँडाबाट निस्किंदै माधव नेपालले भनेः अब तितो-पिरो बिर्सिनुपर्छ, हाम्रो हृदय विशाल छ – Nepal Press

पेरिसडाँडाबाट निस्किंदै माधव नेपालले भनेः अब तितो-पिरो बिर्सिनुपर्छ, हाम्रो हृदय विशाल छ

काठमाडौं । पुन:स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पेरिसडाँडास्थित पार्टी कार्यालयबाट निस्केर अघि बढ्दै थिए, पत्रकारले रोकेर सोधे, ‘अब कसरी अगाडि बढ्नुहुन्छ ?

नेपालले मुखमा लगाएको मास्क चिउँडोमा झारे र ‘खु्शीविनाको’ हाँसो हाँसे । अनि फेरि गम्भीर मुद्रामा पत्रकारलाई जवाफ दिन थाले ।

‘हामीले सबै सम्भावनाको छलफल र अध्ययन गरिरहेका छौं । मुलुकलाई सकारात्मक दिशामा लैजाने, राष्ट्रियताको हित र लोकतन्त्रको सुदृढीकरण गर्ने, समाजको रुपान्तरण अघि बढाउने हाम्रो सोच हुन्छ । हामीले अब तितोपिरो मनमा राखेर, पुरानो इतिहासका कुराहरु कोट्याएर जानुहुँदैन भन्ने सोचेका छौं ।’

‘अब एमाले एमालेतिर, माओवादी माओवादीतिर हुने हो ?’ पत्रकारको दोस्रो प्रश्न थियो । नेपालले आफ्नो स्वभावअनुसार अन्याेलग्रस्त जवाफ दिए ।

‘सर्वोच्च अदालतको फैसलाले त्यो भनेको छ । त्यसमा हामी विभिन्न पक्षको अध्ययन गरिरहेका छौं । अध्ययन गरिसकेर, निर्वाचन आयोगले पठाउने पत्र हेरेर.. त्यसमा पनि जटिलताको कुरा छ । एमाले र माओवादी केन्द्रको नाममा अर्कैले पार्टी दर्ता गरेको छ भन्ने सुन्नमा आएको छ । त्यसैले सजिलै पछाडि फर्किने अवस्था बन्छ कि बन्दैन । जम्मै पक्षबारे अध्ययन र परामर्श गर्छाैं । कानूनी पक्षदेखि सबै पक्षको बारेमा अध्ययन गरेर निष्कर्ष निकाल्छौं ।’

त्यसोभए अब एमालेमै रहेर एकताको प्रयास जारी रहन्छ ?

जोसुकै, जुनसुकै ठाउँमा बसे पनि वामपन्थी आन्दोलनलाई एकीकृत बनाउने सशक्त बनाउने र लोकतन्त्रका मूल्य–मान्यतालाई ध्यानमा राखेर लोकतान्त्रिक शक्तिसँगको सहकार्य निरन्तर जारी रहनेछ । कुनै एउटा विषयवस्तुमा मात्रै सीमित रहने सोचमा छैनौं ।

तर, अब पार्टी फरक भयो नि त ?

हाम्रो हृदय विशाल छ । विशाल हृदयमा सबै अटाउँछन् ।

(यति भनेर नेपालले चिउँडोको मास्क फेरि मुखमा लगे अनि गह्रौं पाइला चाले ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर