महिला केन्द्रित १० फिल्म : ‘कन्यादान’देखि ‘जाइरा’सम्म – Nepal Press

महिला केन्द्रित १० फिल्म : ‘कन्यादान’देखि ‘जाइरा’सम्म

काठमाडौं- सोमबार १११ औं अन्तराष्ट्रिय नारी दिवस मनाइँदैछ । ५० वर्ष लामो इतिहास बोकेको नेपाली फिल्मले पनि नारी केन्द्रित फिल्म निर्माणमा अग्रसरता बढाएको छ ।

पछिल्ला वर्ष निर्देशक, निर्माता, छायांकार, अभिनय र प्राविधिक विधामा महिला सहभागिता बढिरहेको छ । महिला फिचर, डकुमेन्ट्री र इन्डेपेन्डेन्ट फिल्म निर्माणमा अघि बढिरहेका छन् । फिल्मको प्राज्ञिक अध्ययनमा पनि महिलाहरु सक्रिय छन् ।

फिल्ममा महिला सहभागितालाई लिएर समीक्षकका दुई दृष्टिकोण छन् । उनीहरु भन्छन्, -महिलाको विषयवस्तु र चरित्रमाथि कथा भन्नु र महिलाले फिल्म निर्माण गर्नु अलग कुरा हुन् । पछिल्लो समय यी दुबै कोणबाट फिल्म बनिरहेका छन् ।

नेपाली फिल्ममा महिलाको विषयवस्तुमाथि बनेको पहिलो फिल्मको रुपमा सन् १९६४ मा बनेको ‘आमा’लाई लिइन्छ । आमा शीर्षकमा तीन फिल्म निर्माण भएका छन् र तीनै फिल्मको केन्द्रीय पात्रको रुपमा महिलालाई राखिएको छ ।

नारीदिवसको अवसरमा यहाँ १० नेपाली फिल्म प्रस्तुत गरिएको छ जसले नारीवादी दृष्टिकोण, मुद्दा र भावनालाई उठान गरेका छन् ।

१) आमा (१९६४), (२०२०)

सन् १९६४ मा निर्माण भएको हीरासिंह खत्री निर्देशित फिल्म आमा र सन् २०२० मा बनेको दीपेन्द्र खनाल निर्देशित ‘आमा’को केन्द्रमा महिला नै छन् । पहिलो फिल्म श्यामश्वेत हो भने दोस्रो रंगिन हो । यी दुई फिल्मले आ–आफ्नो कालखण्डका दुई आमा चरित्रको कथा भन्छन् । आमाको भूमिका ग्रहण गरेकी महिलाको समाज र परिवारप्रतिको उत्तरदायित्व र चरित्रलाई यी दुई फिल्मले चित्रण गर्छन् । यी दुबै फिल्मले व्यवसायिक र समिक्षात्मकरुपमा सफलता प्राप्त गरेका छन् ।

२) कुमारी (१९७७)

प्रेमबहादुर बस्नेतले निर्देशन गरेको फिल्म कुमारीमा चैत्यदेवी र विश्व बस्नेतको अभिनय छ ।

३) तीन घुम्ती (२०१६)

विश्वेश्वरप्रसाद कोइरालाको चर्चित पुस्तक तीन घुम्तीमा आधारित यो फिल्मलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् । नारीको जीवनमा आउने तीन मोडलाई चित्रण गरिएको यो फिल्मले नारीको सामाजिक आयाम र व्यक्तित्वलाई बुझ्न सजिलो हुन्छ । गरिमा पन्त, धु्रव दत्त र सुशान्त कार्की मुख्य भूमिकामा छन् ।

४) कन्यादान (१९९१)

भुवन केसी र तृप्ती नाड्करको मुख्य भूमिका रहेको यो फिल्मलाई प्रकाश थापाले लेखन एवं निर्देशन गरेका हुन् । बालविवाहको मुद्दा उठान गरिएको यो फिल्मले सक्षम भएपछि मात्र महिलालाई विहे गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।

५) बुलबुल (२०१९)

विनोद पौडेल निर्देशित यो फिल्ममा स्वस्तिमा खड्काको मुख्य भूमिका छ । स्वस्तिमाले यो फिल्ममा पैसा कमाउन विदेशिएका पुरुषकी पत्नीको भूमिकामा अभिनय गरेकी छिन् । वैदेशिक रोजगारीमा पति जाँदा पत्नीमा आउने पारिवारिक दायित्व, जिम्मेवारी र मनोवैज्ञानिक चाहनालाई फिल्ममा चित्रण गरिएको छ । फिल्मले राम्रो समीक्षा प्राप्त गरेको थियो ।

६) राधा (२०१६)

योगेश घिमिरेले निर्देशन गरेको यो फिल्ममा जीवन लुइँटेल र सञ्चिता लुइँटेलको मुख्य भूमिका छ । सम्बन्धमा महिलाको अपेक्षा र महिलाले गर्ने त्यागको विषयमा फिल्म चित्रित छ । फिल्मलाई प्रदीप भारद्धाजले लेखेका हुन् ।

७) नुमाफुङ (२००४)

यो लिम्बु फिल्मलाई नवीन सुब्बाले निर्देशन गरेका हुन् । नुमा नामक एक मुख्य पात्रको कोणबाट निर्देशकले पति बितेकी महिलाको मनोविज्ञान, पुनर्विवाह, एकल महिलालाई हेरिने दृष्टिकोण र लिम्बु समुदायमा भएको वैवाहिक संस्कृतिलाई चित्रण गरिएको छ । यो फिल्मले देश तथा विदेशमा राम्रो समीक्षा प्राप्त गरेको छ ।

८) जाइरा (२०१९)

एक्सन प्रधान यो फिल्ममा नम्रता श्रेष्ठको मुख्य भूमिका छ । नेपाली फिल्ममा महिलालाई मुख्य पात्रको रुपमा लिएर एक्सन दृश्य समेट्ने अवसर कमै हुन्छन् । फिल्ममा नम्रताले पति हत्याको बदला लिन पत्नीले गरेको संघर्ष गर्ने पात्रको भूमिका खेलेकी छिन् । उमा थरम्यान स्टारर हलिउड फिल्मबाट यो प्रभावित भएको मानिन्छ ।

९) झोला (२०१३)

कृष्ण धरावासी लिखित उपन्यासमा फिल्म आधारित छ । मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने, नेपालमा प्रचलित सतिप्रथालाई चित्रण गरिएको छ । गरिमा पन्तको मुख्य भूमिका रहेको फिल्मले समीक्षात्मक र व्यवसायिक रुपमा सफलता प्राप्त गरेको थियो ।

१०) उमा (२०१३)

तत्कालिन सशष्त्र द्वन्द्वको समयमा दाजु प्रहरी र बहिनी माओवादीमा आबद्ध हुँदा त्यसले परिवार र समाजमा ल्याउने विभाजनको कथा यसले भन्छ । निकै मार्मिक र यथार्थपरक कथावस्तुमा आधारित यो फिल्मलाई छिरिङरितार शेर्पाले निर्देशन गरेका हुन् । ऋचा शर्मा र सौगात मल्लको मुख्य भूमिका रहेको यो फिल्मले राम्रो समीक्षा प्राप्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *