सन्ध्या तिवारी भन्छिन्- सर्वोच्चको फैसला स्वीकार्छौं तर ओली नेतृत्वको एमालेमा मिसिंदैनौं – Nepal Press

सन्ध्या तिवारी भन्छिन्- सर्वोच्चको फैसला स्वीकार्छौं तर ओली नेतृत्वको एमालेमा मिसिंदैनौं

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता विवाद समाप्त गर्दै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने गरी हिजो फैसला गर्‍यो ।

यो फैसलाले हाल निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्रका नाममा दर्ता रहेका दुई पार्टी खारेज हुने भएका छन् ।

अहिले सन्ध्या तिवारीको नेतृत्वमा रहेको एमाले र गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्रको नाम दर्ता छ । सर्वोच्चको फैसलापछि यी दुवै समूहले पार्टीको नाम फेर्छन् वा अदालतको ढोका ढक्ढकाउँछन् भन्ने प्रश्न उब्जिएको छ । तेस्रो विकल्प भनेको किराँती प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा र तिवारी ओली नेतृत्वको एमालेमा समाहित हुने हो ।

यस विषयमा नेपाल प्रेस ले आयोगमा दर्ता एमालेकी अध्यक्ष तिवारीलाई प्रश्न गर्दा उनले सर्वोच्चको फैसला स्वीकार गर्ने बताइन् । तर, आफूहरू केपी ओली नेतृत्वको एमालेमा समाहित नहुने उनको भनाइ छ ।

‘हामीलाई अदालतको फैसलामा कुनै गुनासो छैन, पार्टीको नाम फेर्ने प्रक्रिया अगाडि बढाउनेछौं,’ तिवारीले भनिन् ।
यस विषयमा छलफल गर्न आज उनको समूहको वैठक बसेको थियो । बैठकमा नाम फेर्नेबारे छलफल भएको तर नयाँ नाम प्रस्तावित नभइसकेको तिवारीले बताइन् । अदालतबाट अहिलेसम्म नाम परिवर्तन गर्नुपर्ने विषयमा आफूलाई कुनै पत्राचार नभइसकेको उनले बताइन् ।

‘तपाईंहरूले आखिर एमाले नै चाहनुभएको थियो, जुन ब्युँतिसकेको छ, फेरि अलग पार्टी किन चाहियो त ?’ भन्ने प्रश्नमा तिवारीले स्पष्ट जवाफ दिइनन् ।

‘हाम्रो आफ्नै विचार छ, संगठन छ, त्यसैले छुट्टै अगाडि बढ्नेछौं’, उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर