सरकारी कार्यालयमा भीड कम गर्ने सुर्खेतका प्रजिअको प्रतिबद्धता – Nepal Press

सरकारी कार्यालयमा भीड कम गर्ने सुर्खेतका प्रजिअको प्रतिबद्धता

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रमुख जिल्ला अधिकारीको जिम्मेबारीमा आएका छवि रिजालले मालपोत लगायतका सरकारी कार्यालयमा भीडभाड कम हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नयाँ नियुक्तिपछि पहिलोपल्ट पत्रकारहरुसँग कुराकानी गर्दै प्रजिअ रिजालले भने, ‘अहिले मालपोत कार्यालयमा अत्याधिक चाप छ । यो चाप कमगर्नका लागि हरेक पालिका वा मुख्य बजारक्षेत्रमा भू–सेवाकेन्द्र स्थापना गर्ने र त्यहाँबाट लगत संकलन गरेर मालपोत कार्यालयमा रुजु गराउने व्यवस्था गर्दैछौं । यो प्रणाली सुरु भएको खण्डमा आगामी बैशाखसम्म यो भिडभाड कम हुने अपेक्षा गरेको छु ।’

उनले कार्यालयमा सूचना अधिकारीले सूचना दिने व्यवस्थालाई कडाइका साथ लागू गर्ने, समयमा कार्यालय नआउने कर्मचारीलाई कारवाही गर्ने, राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने बताए ।

प्रजिअ रिजालले कर्णालीको राजधानीसमेत भएको वीरेन्द्रनगरका सडकमा दुर्घटना कम गराउन योजना बनाउने बताए । ‘राजधानीका सडक अस्तव्यस्त भएका छन् । विना लाइसेन्स अटो रिक्साहरु चलिरहेका छन् । मुख्य सडकमा जेव्राक्रस छैनन् । यसले सडक दुर्घटनाको भय बढाएको छ,’ उनले भने, ‘यसका लागि लाइसेन्स अनिवार्य गरिनेछ । हरेकसडक कसले निर्माण गरेको हो त्यसको पुर्ण विवरण राख्न लगाइन्छ र जेव्राक्रसको प्रयोगबारे आवश्यक सूचना दिने, जेव्राक्रस निर्माण गर्ने काममा लाग्न आवश्यक पहल गरिनेछ।’

यसका अलावा सुर्खेतको शान्ति सुरक्षा कायम गर्न र यहाँका विकास निर्माणमा तीव्रता दिनका लागि स्थानीय, प्रदेश सरकारसँग सहअस्तित्व, समन्वय र सहकार्य गर्ने प्रजिअ रिजालको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *