जब ओलीले माधव नेपाललाई फोन गरेर जन्मदिनको शुभकामना दिए… – Nepal Press

जब ओलीले माधव नेपाललाई फोन गरेर जन्मदिनको शुभकामना दिए…

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता सम्वन्धमा हिजो फैसला सुनाएपछि चर्चामा छन् माधवकुमार नेपाल । तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि नेपाल ‘यता न उता’ बनेको टिप्पणी भइरहेको छ ।

आफ्नो लागि स्तब्धकारी फैसला आउँदा संयोगले माधव नेपाल जन्मदिनको खुशीयाली मुडमा थिए । पार्टीका नेता-कार्यकर्तादेखि शुभचिन्तकसम्मको शुभकामना ग्रहण गरिरहेका थिए । शुभकामना दिनेमध्ये एक थिए, प्रधानमन्त्री केपी शर्मा ओली ।

ओलीले हिजो बिहानै नेपाललाई फोन गरेर ‘बर्थडे विस’ गरेको स्रोतले बतायो । जवाफमा नेपालले धन्यवाद दिए ।

ओलीले भनेका थिए, ‘तपाईंको बर्थ डे केक काटेर धुमधामले मनाउन मन थियो, तर तपाईं मेरो अनुहारै हेर्न चाहनुहुन्न, भौतारिएर कताकता हिँड्नु भएको छ ।’

उनीहरूको फोन संवाद सुनेका नेता सुवास नेम्वाङले ओलीलाई कटाक्ष गरे ।

‘तपाईंहरुको भित्रभित्र यत्रो हिमचिम रहेछ, जन्मदिनमा बिहानै सम्झेर फोन गर्नुहुँदो रहेछ । बाहिर चाहिँ किन एकअर्कालाई देखि नसहेझैं गर्नुहुन्छ ?’ नेम्वाङले भने । ओली मुसुमुसु हाँसे मात्र ।

नेम्वाङले दिउँसो आफैं माधव नेपाललाई फोन गरेर जन्मदिनको शुभकामना दिए । नेपालले गलल हाँस्दै धन्यवादज्ञापन गरे ।

यो शुभकामना आदानप्रदान सर्वोच्चले एमाले र माओवादी ब्युँताउने फैसला सुनाउनुभन्दा अगाडिको हो । फैसलापछि ओली र नेपाल दुवै एउटै पार्टीका भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर