गैरजिम्मेवार गाउँपालिका अध्यक्ष, अटेरी कर्मचारी– नागरिकले वृद्धभत्ता पनि पाएनन् – Nepal Press

गैरजिम्मेवार गाउँपालिका अध्यक्ष, अटेरी कर्मचारी– नागरिकले वृद्धभत्ता पनि पाएनन्

जनकपुरधाम । कर्मचारी र नेतृत्वबीचको जुँगाको लडाईंले बेथिति कसरी मौलाइरहेको छ भन्ने उदाहरणका लागि धनुषाको औरही गाउँपालिका पर्याप्त छ । अध्यक्ष ब्रह्मदेव यादव र प्रमुख प्रशासकीय अधिकृत सुबोध ठाकुरबीचको द्वन्द्वले दैनिक काम मात्र होइन विकास निर्माण र दिगाे लक्ष्यका कामहरु पनि संचालन हुनसकेका छैनन् ।

करिब ८ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण भएको छैन । विकास निर्माणको काम ठप्प छ । सामाजिक सुरक्षा भत्ता लामो समयदेखि वितरण नगरेपछि आइतवार सयौं वृद्धवृद्धाले गाउँपालिका कार्यालय घेराउ गरे । उनीहरुले अध्यक्ष यादवविरुद्ध नारा लगाए । उनको राजीनामासमेत मागे । तर उनीहरुको पीडा सुनिदिने कोही थिएन ।

कार्यालयको प्रवेशद्वार खुल्ला थियो । भित्र हेर्दा न अध्यक्ष न प्रमुख प्रशासकीय अधिकृत उपस्थित थिए । वृद्धवृद्धाहरु आन्दोलन गरिरहेका बेला उपाध्यक्ष मीरादेवी सहनी आइपुगिन् । उनलाई चारैतिरबाट आन्दोलनकारी वृद्धवृद्धाको घेराउमा परिन् ।

लामो समयदेखि भत्ता नपाएका वृद्धवृद्धाहरु आक्रोशित हुँदै उपाध्यक्ष सहनीलाई प्रश्नमाथि प्रश्न तेर्साए । उनले वृद्धवृद्धाहरुलाई सम्झाउने प्रयास गरिन् ।

उनले भनिन्, ‘भत्ताका लागि जनकपुर पुगेर पहल गरेका छौं । अध्यक्षको बदमासीले ढिलो भइरहेको छ । म के गरु ? मलाई केही अधिकार नै दिएको छैन ।’

उनको कुरा वृद्धवृद्धाहरुले विश्वास गरेनन् । पछि उनले अध्यक्ष यादवलाई त्यही भीडबाट फोन लगाइन् र आउन आग्रह गरिन् । जवाफमा अध्यक्षले कर्मचारी र तपाईं भएपछि भइगो नि म किन आउनुपर्यो ? भनेर गैरजिम्मेवार कुरा गरे ।

अध्यक्ष यादव आन्दोलित वृद्धवृद्धाको पीडा बुझ्न आएनन् । त्यसपछि झन् आक्रोशित बनेका वृद्धवृद्धाहरुले गाउँपालिकाको मुख्यद्वारमा ताला लगाए । हुन त प्रहरीले ताला लगाउनबाट रोक्ने प्रयास गरेको थियो । तर ज्येष्ठ नागरिकको भावनासँग पुलिसको पनि केही लागेन ।

अध्यक्ष यादव एक महिनादेखि कार्यालय नआएको उपाध्यक्ष सहनीले बताइन् । उनले भनिन्, ‘उहाँले मलाई कुनै जानकारी गराउनुभएको छैन । कार्यालय किन नआएको भन्ने प्रश्न उहाँलाई नै सोध्नुहोला ।’ उनले आफूले कार्यवाहकको जिम्मेवारी पनि नपाएको प्रष्ट पारिन् ।

पीडामा वृद्धवृद्धा

प्रत्येक चौमासिकमा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बाँड्नुपर्ने हुन्छ । तर औरही गाउँपालिकाले अनेक बहाना बनाएर दुई चौमासिकको रकम वितरण गरेको छैन ।

औरही गाउँपालिका २ का सोनेलाल साह भत्ता नपाउँदा ढाडको उपचार गराउन पाएका छैनन् । उनले नेपाल प्रेससँग भने, ‘एक महिना अगाडि खाटबाट लडेपछि ढाड नै भाँच्चियो । लाठीको सहाराले चल्नुपर्छ । भत्ता नपाएर उपचार गराउन पाएको छैन ।’

उनी भत्ताका लागि कैयौं पटक गाउँपालिका धाइसके । तर अहिलेसम्म न प्रशासकीय अधिकृत न अध्यक्षको मुख हेर्न पाएका छन् । उनले कार्यालय आउँदा कर्मचारी नै नभेट्ने गरेको गुनासो पोखे । भने, ‘हामीले जिताएको मेयर पनि भेट्दैन । उनी बेइमान बने । सरकारको ध्यानाकर्षण होस् भनेर आज हामीले गाउँपालिकामा तालाबन्दी गरेका हौं ।’

यस्तै ७५ वर्षीया वृद्धा समुन्द्री पासवान लामो समयदेखि गाउँपालिकाले भत्ता नदिएर आफूहरुसँग अन्याय गरेको बताउँछिन् । १५/२० दिन अगाडि पनि भत्ताकै लागि गाउँपालिकामा ताला लगाएको सम्झिंदै भनिन्, ‘उपाध्यक्षले सिडिओसँग कुरा गराइदिनुभयो । चार दिनमै भत्ता पाउनुहुन्छ भनेका थिए ।’

उनले भत्ताका लागि करिब ४० दिन गाउँपालिका कार्यालय आएको बताइन् । उनले भनिन्, ‘मेयरले आज भोलि भन्दै झुलाउँछन् तर आफैं काठमाडौं भागिहाल्छन् ।’

अधिकृतमाथि अध्यक्षको आक्रोश

वृद्ध भत्ता वितरण नहुनुमा प्रमुख प्रशासकीय अधिकृत ठाकुर जिम्मेवार रहेको अध्यक्ष यादव बताउँछन् । उनले अधिकृत ठाकुरको बदमासीले आफ्नो चरित्रहत्या भइरहेको गुनासो गरे ।

उनका अनुसार हरेक वर्ष वृद्धवृद्धाहरुको नयाँ तथ्यांक तयार गरेर वडाबाट आएपछि मात्र वृद्ध भत्ता वितरण हुन्छ । सबै वडाबाट मंसिर ११ गते कागजात आयो । त्यतिबेला अधिकृत नै थिएनन् । र भत्ता वितरण हुन सकेन ।

उनले नेपाल प्रेससँग भने, ‘माघ ४ गते गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर भए । तर सोही महिनाको २१ गते मन्त्रालयले उनको सरुवा गर्यो । उनको सरुवा धनुषाकै धनौजी गाउँपालिकामा भएको छ । उनी भने औरही गाउँपालिका छाड्न तयार छैनन् ।’

‘सरुवा भएको २१ दिनभित्र रमाना बुझेर सम्बन्धित कार्यालयमा हाजिर हुनुपर्ने प्रावधान रहेको छ’ अध्यक्ष यादवले भने, ‘तर अधिकृत ठाकुरले रमाना नै बुझ्न मान्नुभएको छैन । यतिसम्म कि उहाँ मेरो फोन पनि उठाउनुहुन्न ।’

गाउँपालिकामा राजनीति गरेर अधिकृत ठाकुरले आफ्नो चरित्रहत्या गराउन लागेको आरोप समेत अध्यक्ष यादवले लगाए । उनले भने, ‘ पटक पटक मन्त्रालय पुगें। सचिवले सरुवा भएको अधिकृत रमाना बुझेर सम्बन्धित कार्यालयमा गएपछि अर्को अधिकृत पठाउँछु भन्नुहुन्छ । अहिले पनि म त्यही कामले काठमाडौंमा छु ।’

अधिकृत ठाकुर भने सम्पर्क बाहिर छन् । उनको फोन स्वीच अफ छ । उनी कार्यालयमा समेत आउने गरेका छैनन् । अध्यक्ष काठमाडौं पुगेपछि अन्य कर्मचारी पनि कार्यालय आउन छाडेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *