महिलाका समस्या अन्त्य गर्न हामी प्रयासरत छौंः मुख्यमन्त्री शाही – Nepal Press

महिलाका समस्या अन्त्य गर्न हामी प्रयासरत छौंः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीकाे दूरदराजका बस्तीमा दुःख, कष्ट, विभेद, अनेक प्रकारका समस्या झेलिरहेका महिला समुदायको समस्या समाधान गर्न प्रदेश सरकार प्रयत्नरत रहेको बताएका छन् ।

विश्वभरका महिलाहरुको महान् उत्सव १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री शाहीले जनसंख्याको आधा हिस्सा ओगटेका महिलाले हरेक क्षेत्रमा पुरुषसरह समान अवसरको उपभोग गर्न पाउने वातावरण तयार गर्नु सबैको दायित्व रहेको बताए ।

‘लोकतान्त्रिक गणतन्त्र नेपालको लागि विभिन्न कालखण्डमा भएका आन्दोलनको बलमा बनेको हाम्रो संविधानले प्रत्येक महिलालाई विना भेदभाव समान वंशीय हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति एवं पारिवारिक मामिलामा समान हकलगायतका अधिकार सुनिश्चित गरेको छ ।’ उनले भनेका छन्, ‘संविधानप्रदत्त हकअधिकारको सुनिश्चितता गर्न गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य र रोजगारीको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्दै सामाजिक पछौटेपन, अन्धविश्वास र कुरीतिका कारण महिलाले भोग्नुपरेका समस्या अन्त्यका लागि प्रदेश सरकारले विशेष प्रयास गरिरहेको छ ।’

प्रदेश सरकारले कार्यान्वयनमा ल्याएका ‘बैंक खाता छोरीको–सुरक्षा जीवनभरिको’, ‘छोरीबुहारी छात्रवृत्ति’, ‘मुख्यमन्त्री महिला दलित आयआर्जन’ लगायतका कार्यक्रमहरुले महिला र पुरुषबीच रहेको विभेद अन्त्यका लागि महत्वपूर्ण कोसेढुंगाको काम गर्ने विश्वास मुख्यमन्त्रीकाे छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *