लैंगिक समानता र महिला विकासमा उल्लेख्य प्रगति भएको छ– प्रधानमन्त्री – Nepal Press

लैंगिक समानता र महिला विकासमा उल्लेख्य प्रगति भएको छ– प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यले ल्याएका नीतिहरुको कार्यान्वयनसँगै लैंगिक समानता र महिला विकासमा उल्लेख्य प्रगति भएको बताएका छन् ।

१११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राज्यको तर्फबाट नीतिगत, कानूनी, संरचनात्मक र प्रक्रियागत सुधारको फलस्वरुप राजनीतिक र प्रशासन क्षेत्रमा महिलाको सहभागितामा उल्लेखनीय वृद्धि भएको बताए ।

‘शिक्षा, स्वास्थ्य, रोजगारीका सूचकहरुमा सकारात्मक सुधार भएको छ । लैंगिक विकास सूचकांकमा भएको सुधारबाट पनि सरकारको प्रयासले राम्रो प्रतिफल दिएको छ भनेर बुझ्न सकिन्छ’ प्रधानमन्त्रीले वक्तव्यमा भनेका छन्, ‘यद्यपि समाजको न्यूज चेतनाका कारण महिला उत्पीडन, महिला हिंसा र दुर्व्यवहारका अवशेषहरु बाँकी छन् । यसलाई निरुत्साहित गर्न सबैको सहकार्यमा जनचेतनाको आवश्यकता रहन्छ ।’

नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकको रुपमा व्याख्या गरिएको तथा महिला तथा किशोरीमाथि हुने बलात्कार र अन्य हिंसा नियन्त्रणका लागि कानूनी व्यवस्थालाई थप कडा बनाइएको प्रधानमन्त्रीको दाबी छ । ‘लैंगिक रुपमा हुने हिंसाको अन्त्य र सामाजिक न्याय तथा सम्मानपूर्ण जीवनयापनकाे अधिकार सुनिश्चित गरी हामी देशलाई समृद्ध र जनतालाई सुखी बनाउने अभियानमा छौं,’ प्रधानमन्त्रीको वक्तव्यमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *