निर्माण अगाडि बढाउँदा भूगर्भ विज्ञानको अध्ययन गर्नुपर्छ: उद्योग राज्यमन्त्री – Nepal Press

निर्माण अगाडि बढाउँदा भूगर्भ विज्ञानको अध्ययन गर्नुपर्छ: उद्योग राज्यमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला वि.क.ले भौतिक पूर्वाधार निर्माणका कामलाई अगाडी बढाउँदा भुगर्भ विज्ञानको अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् ।

आइतबार दशौँ नेपाल भौगर्भिक सम्मेलन २०२१ को उद्घाटन गर्दै राज्यमन्त्री वि.क.ले सरकारले विकास निर्माण र भौतिक संरचना निर्माणका धेरै कामहरु अगाडी बढाएको भन्दै ति कामहरुलाई व्यवस्थित ढंगले अगाडी बढाउनको निम्ति भुगर्भ विज्ञानको सहि अध्ययन, अन्वेषण गर्नुपर्ने आवश्यकता रहेको बताएकी हुन् ।

विकास निर्माणका कामलाई दुरगामी गराउन र देशलाई समृद्ध बनाउनको निम्ति सरकारले गर्ने कामहरुलाई भुगर्भ विज्ञानसँग जोडेर व्यवस्थित गर्नैपर्ने उनको भनाई छ ।

उनले भनिन्,‘विभिन्न खालका संरचनाहरुको निर्माण गर्ने, पुल, बाटो, विभिन्न खालका उद्योगहरु निर्माण गर्ने, विभिन्न खालका नयाँ खानी लगायतका विभिन्न खालको खोज अनुसन्धान गर्ने यी विभिन्न खालका निर्माणका कामलाई अगाडी बढाइरहेका छौँ । तर यो कार्यलाई व्यवस्थित गर्न, दुरगामी गर्न र मुलुकले राखेको राष्ट्रिय आकांक्षालाई पुरा गर्नका लागि हामीले भुगर्भको सही अध्ययन, अन्वेषण र विश्लेषण गर्न सक्यो भने मात्रै यो कुरा सम्भव हुन्छ जस्तो लाग्छ मलाई । समृद्ध नेपालको कुरा गरिरहदाखेरी अब हामीले गर्ने कामहरुलाई भु–विज्ञानसँग जोडेर यसलाई व्यवस्थित गरेर नलगिकन उन्मुक्ति पाइदैन । यसलाई राज्यले महत्वको हिसाबले अगाडी लानुपर्छ ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक संरचना भुकम्प प्रतिरोधी नभएका कारण भुकम्पका कारण धेरै क्षति बेहोर्नुपरेको बताए ।

पुनर्निर्माणको भुगर्भको अध्ययन हुनुपर्नेमा पनि उनको जोड छ । भौतिक पूर्वाधार निर्माणमा भुगर्भको अवस्था अनुसार ध्यान दिनुपर्ने भएपनि त्यसो हुन नसकेको उनको भनाई छ ।

पछिल्लो समय सरकार र इन्जिनियरिङ क्षेत्रमा भुर्गभको अध्ययन गर्नुपर्ने बुझाइ क्रमश बढ्दै गएको भन्दै ज्ञवालीले यसको निम्ति भुगर्भविद्हरुको योगदान महत्वपूर्ण हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर