मेयर–११ले वाग्मतीलाई दियो २४५ रनको लक्ष्य – Nepal Press

मेयर–११ले वाग्मतीलाई दियो २४५ रनको लक्ष्य

काठमाडौं । काठमाडौं मेयर कपमा मेयर–११ ले वाग्मती प्रदेशलाई २४५ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेयर–११ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४४ रनको योगफल तयार गरेको हो ।

खराब सुरुआत गरेको मेयर–११ का लागि अन्त्य क्रमका ब्याट्सम्यानले इनिङ सम्हाल्दै सम्मानजनक योगफलतर्फ डोर्याए । मेयर–११ का लागि सौरभ खनालले अविजित रहँदै बनाएको ४९ रन नै इनिङको सर्वाधिक बन्यो ।

त्यस्तै, कप्तान सन्दीप लामिछानेले २० बलमा ६ छक्कासहित ४२ रनको आक्रामक इनिङ खेल्दा बिपिन कार्की ३२, सिद्धान्त लोहनी ३४ र सन्दीप रजालीले ३३ रनको योगदान गरे ।

अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । वाग्मतीका लागि नन्दन यादवले १० ओभरमा ४१ रन खर्चेर १ मेडनसहित सर्वाधिक ४ विकेट लिए । आरियो पौडेल र रामनरेश गिरीले २/२ तथा दिपेश श्रेष्ठले १ विकेट लिए ।

शनिबार भएको खेलमा नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको वाग्मती फाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रतियोगितामा पाँच टोली सहभागी छन् ।

राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणको समाप्तिबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर