इन्धन आपूर्तिलाई व्यवस्थित बनाउन थानकोट डिपोको स्तरोन्नति सकियो – Nepal Press

इन्धन आपूर्तिलाई व्यवस्थित बनाउन थानकोट डिपोको स्तरोन्नति सकियो

काठमाडौं । नेपाल आयल निगमले वागमती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरणको स्तारोन्नतिको शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेका छन् ।

भट्टले कार्यक्रममा बोल्दै उनले निगमको व्यवस्थापकीय तथा प्राविधिक सुधारमा ध्यान दिन आग्रह गरेका छन् ।

उनले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धि गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘निगमलाई भण्डारण क्षमता वृद्धि गर्न सरकारी स्वामित्वमा रहेको जग्गा हेरिरहेका छौँ, जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि तत्काल बढाउँने छौं,’ उनले भने ।

नेपाल आयल निगमले वागमती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको हो ।

काठमाडौँलगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएको थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालयको भौतिक, प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी स्तरोन्नति गरिएको हो ।

कार्यालय स्तरोन्नतिअन्तर्गत इन्धन भर्ने आधुनिक प्वाइन्टको क्षमता विस्तार तथा आधुनिकीकरण, ट्याङ्क तथा ट्रक पार्किङ, अग्नि नियन्त्रण उपकरणको निर्माण तथा आधुनिकीकरण, डिपो सुरक्षाका लागि पर्खाललगायतका काम सम्पन्न गरेर डिपो री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न निगमले जानकारी दिएको छ ।

करीब एक वर्षको अवधिमा परियोजनाको पहिलो चरण सम्पन्न भएको र डिपोमा व्यापक सुधार आएको जिकिर निगम व्यवस्थापनले गरेको छ ।

इन्धन आपूर्तिलाई व्यवस्थित बनाउन ट्याङ्करमा तेल भर्ने प्वाइन्टको संख्या दोब्बर बनाइएको छ । योसँगै तेल भर्न ट्याङ्कर लामो समयसम्म लाममा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

डिपो आसपास क्षेत्रमा रहेको अव्यवस्थित पार्किङको समस्या समाधान भएको निगमले जनाएको छ । डिपोसँगै रहेको ३९ रोपनी जग्गामा ट्रक तथा ट्याङ्करको पार्किङ समेत बनाएको निगमले बताएको छ । जहाँ २०० भन्दा बढी ट्रक तथा ट्याङ्कर पार्किङ गर्न सकिने बताइएको छ ।

री–इन्जिनीयरिङ परियोजनाको दोस्रो चरण छिट्टै शुरु हुने र त्यसले पनि चाँडै मूर्तरुप पाउने निगमको भनाइ छ ।

थानकोटस्थित डिपोबाट राजधानी र आसपासका १० जिल्लाका १८० भन्दा बढी पेट्रोल पम्पमा इन्धन आपूर्ति हुँदै आएको छ ।

करीब १०६ रोपनी क्षेत्रफलमा फैलिएको सो डिपोमा डिजल आठ हजार ४०० किलोलिटर, पेट्रोल छ हजार ७० किलोलिटर, मट्टितेल ७६० किलोलिटर भण्डारण क्षमताका ट्याङ्कहरू रहेका छन् ।

उक्त डिपोबाट दैनिक करीब ७०० किलोलिटर पेट्रोल, ९०० किलोलिटर डिजल र आठ किलोलिटर मट्टिटेल बिक्री वितरण हुँदै आएको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगम सुधारका योजना अनुसार अब छिट्टै त्यसको परिणाम देखिने बताए ।

प्रविधिको प्रयोगबाट निगमलाई व्यवस्थित बनाउने र अन्तर्राष्ट्रिय मान्यता प्राप्त कम्पनीका रूपमा विकसित गरिने पनि जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर