कोभ्याक्स सुविधाअन्तर्गत साढे ३ लाख डोज खोप नेपाल आइपुग्यो – Nepal Press

कोभ्याक्स सुविधाअन्तर्गत साढे ३ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं । दोस्रो चरणको खोप अभियान शुरू भएकै दिन कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोप काठमाडौं आइपुगेको हो । खोप भित्रिएको पुष्टि गर्दै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा कोभ्याक्सको कोभिडविरुद्धको खोप आइपुगेकोमा धेरै खुशी लागेको उल्लेख गरेकी छन् । बेलायत सरकारले खोपलाई नेपालीसम्म पुर्‍याउन सहयोग गर्दैआएको र खोपको पहुँच सबै नेपालीलाई हुन जरुरी रहेको उनले बताएकी छन् ।

उनले भनेकी छन्, ‘बेलायतमा बनेको खोप भएकोले थप खुशी लागेको छ ।’

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।

चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर