संसदमा आज ८ अध्यादेश पेश हुने – Nepal Press

संसदमा आज ८ अध्यादेश पेश हुने

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारी निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पहिलोपल्ट आज अपराह्न संसद बैठक बस्दैछ ।

पुन:स्थापित संसद बैठकको पहिलो दिन ८ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेश गर्नेछन् ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) , तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेश गर्ने छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी (तेस्रो संशोधन) अध्यादेश, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेश हुने संसद सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यी अध्यादेश जारी भएका थिए । अध्यादेश जारी भएको छ महिनाभित्र संसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

मन्त्रिपरिषदको फागुन १७ को बैठकको निर्णय र सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि संसदको हिउँदे अधिवेशन बोलाएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर