६५ वर्षमाथिका १७ लाखलाई भोलिदेखि खोप लगाइने, कोभ्याक्सको पहिलो खेप पनि भोलि आउँदै – Nepal Press

६५ वर्षमाथिका १७ लाखलाई भोलिदेखि खोप लगाइने, कोभ्याक्सको पहिलो खेप पनि भोलि आउँदै

काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको खोप अभियानको दोस्रो चरण आइतबारदेखि सुरु गर्ने भएको छ । दोस्रो चरणको पहिलो दिन आइतबार ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाउने छन् ।

सरकारले ५५ वर्षभन्दा माथिकालाई खोप लगाउने पूर्वप्राथमिकता परिवर्तन गरेको हो । शनिबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले ६५ वर्षमाथिका १७ लाख ६५ हजार जना नागरिकलाई खोप लगाइने बताए ।

खोप उपलब्धताका आधारमा सरकारले प्राथमिकता परिवर्तन गर्दै ६५ वर्षभन्दा माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई लगाउने निर्णय गरेको मन्त्री त्रिपाठीले जानकारी दिए । ५५ वर्षमाथिकालाई १० दिनपछि मात्र खोप लगाइने भएको छ ।

५५ देखि ६४ वर्षसम्मका नागरिकले भने चैतमा मात्र खोप लगाउन पाउने भएका छन् ।

खोप उपलब्धताका आधारमा त्यसलगत्तै अर्को २८ लाख जनसंख्यालाई खोप लगाइने समेत उनले जनाए । ढुक्क भएर खोप लगाउन आग्रह गर्दै स्वास्थ्यमन्त्रीले खोपको नकारात्मक असर देखिए उपचार गर्ने व्यवस्था गरिएको बताए ।

अस्पताल केन्द्रित खोप अभियान स्थगित गरेर खोप केन्द्रबाट खोप लगाइने जनाउँदै मन्त्री त्रिपाठीले खोप अभियानमा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिने बताए ।

विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पायक पर्ने खोप केन्द्रमा खोप लगाइने उनले जानकारी दिए । आइतबार ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी तथा सार्वजनिक यातायातका चालक र सहचालकलाई खोप दिइने भएको छ ।

कोभ्याक्सअन्तर्गतको पहिलो खेप भोलि आउने

स्वास्थ्य मन्त्री त्रिपाठीका अनुसार विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार काठमाडौं आइपुग्ने छ ।

कोभ्याक्समार्फत आउने कूल १ करोड ४८ लाख डोज खोपको प्रतिबद्धताअन्तर्गत पहिलो खेपमा ३ लाख ४८ हजार डोज मात्र आइपुग्ने उनले जनाए ।

मन्त्री त्रिपाठीका अनुसार एसियामा श्रीलंका र म्यानमारपछि कोभ्याक्सअन्तर्गत खोप प्राप्त गर्ने मुलुकमा नेपाल तेस्रो हो । सरकारले थप ५० लाख डोज खोप खरिद गर्ने प्रक्रिया सुरु गरेको समेत उनले जनाए ।

मन्त्री त्रिपाठीले ढुक्क भएर अहिले प्रयोगमा आएको अक्सफोर्डको कोभिसिल्ड खोप लगाउन आग्रह गरे । यो खोपको सकारात्मक असर रहेको भन्दै उनले समस्या आए एकै दिनमा समस्या समाधान हुने गरी उपचार गरिने जनाए ।

खोप लगाएपछि २ हजार १६७ जनामा सामान्य प्रकारको र १९ जनामा हल्का गम्भिर खालको समस्या देखिएको भन्दै मन्त्री त्रिपाठीले खोपको प्रभावकारितामा ढुक्क हुन आग्रह गरे ।

खोप लगाएपछि अरुलाई सार्ने जोखिम हुने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । कोभिड–१९ विरुद्ध विभिन्न ८१ वटा खोपहरु विकसित भएका छन् ।

तीमध्ये १२ वटा खोपले प्रयोगका लागि अनुमति प्राप्त गरेका छन् । नेपालमा आपतकालिन प्रयोगका लागि सिरम इन्स्टिच्युटको कोभिसिल्ड र चीनको सिनोफार्मले नियामक निकायबाट अनुमति प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर