उद्घाटन नहुँदै खरानी भयो करोडौं लगानीको उद्योग – Nepal Press

उद्घाटन नहुँदै खरानी भयो करोडौं लगानीको उद्योग

कैलाली । कैलालीको धनगढीमा ठुलो लगानीमा खुलेको फर्निचर उद्योग उद्घाटन नहुँदै जलेर ध्वस्त भएको छ । फागुन महिनाभित्रै भव्य उद्घाटन गर्ने तयारीमा रहेको आलोक मल्टी कन्सर्न शनिवार क्षणभरमै खरानी भएको हो ।

‘उद्घाटनको तयारी भइरहेको थियो तर, आगोले सत्यानाश गरिदियो’ उद्योगका व्यवस्थापक अरिफ अहमद राईले भने, ‘करिब २० करोडको क्षति भएको छ ।’ प्रहरीले भने अहिले क्षतिको यकिन विवरण नआइसकेको बताएको छ ।

‘आगलागीबाट ठुलो क्षति भएको छ तर कति रुपैयाँको क्षति भयो भन्नेबारे हामीले विवरण लिइरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने ।

एक वर्षको तयारीपछि उद्योग उद्घाटनको तयारी गरिएको थियो । शनिवार उद्योगमा लागेको आगोले उद्योग पूर्णरूपमा नष्ट भएको छ । आगलागीको कारण खुलेको छैन ।

भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनमा ल्याउन लागेको फर्निचर उद्योगमा शनिवार दिउँसो १२ बजेको आसपास एक्कासि धुवा देखिन थालेको थियो ।

उद्योग भएको स्थानमा बेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर, प्रहरीले भने अझै पनि आगलागीका कारण खुल्न नसकेको जनाएको छ ।

समयमा दमकल आएन
आगलागी भएलगत्तै दमकल नआउँदा पनि बढी क्षति भएको स्थानीयले बताएका छन् । समयमा दमकल आइदिएको भए आगो नियन्त्रण हुन सक्ने स्थानीय कृष्ण चौधरीले बताए । उनले भने, ‘आगलागी नियन्त्रणका साधनहरू अब तयारी अवस्थामा राख्न आवश्यक देखिएको छ ।’

धनगढी उपमहानगरपालिकाको दुईवटा दमकल, गोदावरीको एउटा कञ्चनपुर पुर्नवारको एउटा दमकल आगो नियन्त्रणमा खटिएका थिए । घोडाघोडी नगरपालिकाबाट दमकल धनगढी नपुग्दै आगो नियन्त्रणमा आइसकेको थियो ।

उक्त आगलागी भएको स्थानबाट नेपाल आयल निगमको डिपो करिब १०० मिटरको दुरीमा रहेको छ । आलय निगमसम्म आगो पुग्न नपाएको हुँदा ठुलो दुर्घटनाबाट रोकिएको स्थानीयहरु बताउँछन् ।

तीन स्थानीय तहको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा २ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले आगलागीबाट करोडौँको क्षति भएको हुँदा राहतका लागि पहल गर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *