प्रचण्डको टिप्पणी- विप्लव मैले कोरेकै बाटोमा, अन्ततः यही टीममा आउनैपर्छ – Nepal Press

प्रचण्डको टिप्पणी- विप्लव मैले कोरेकै बाटोमा, अन्ततः यही टीममा आउनैपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्ततः नेत्रविक्रम चन्द्र ‘विप्लव’ आफूले नै कोरेको बाटोमा नै आइपुगेको बताएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विप्लवलाई पार्टीमा स्वागत गर्न प्रतिक्षारत रहेको पनि बताए ।

‘उहाँ अन्ततोगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ,’ प्रचण्डले भने, ‘यसअर्थमा म उहाँलाई धन्यवाद दिन चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु ।’

आफूले पहिले नै विप्लव अन्ततः आफूहरूकै लाइनमा आउने कुरा भनेको र त्यो मिलेको प्रचण्डको दावी थियो ।

उनले भने, ‘मैले जहाँसम्म उहाँलाई बुझेको छु, चिनेको छु, अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टीममा उहाँ आउनै पर्छ । मैले धेरै पहिले नै भनेको थिएँ, जतिबेला उहाँ अलग्गिनु भएको थियो ।’

कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका पनि केही कार्यकर्ता प्रचण्ड–माधव पक्षीय नेकपामा प्रवेश गरेका थिए ।

एउटा कालखण्डमा एउटा मात्रै प्रचण्ड जन्मिन सक्ने उनले बताए । ‘मैले भनेको थिएँ– अर्को प्रचण्ड अहिले हुँदैन । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो, त्यसकारण म उहाँलाई धन्यवाद भन्न चाहन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर