२० वर्षपछि ६०० भन्सार एजेन्ट थपिंदै, लाइसेन्सको परीक्षा लिने तयारी – Nepal Press

२० वर्षपछि ६०० भन्सार एजेन्ट थपिंदै, लाइसेन्सको परीक्षा लिने तयारी

काठमाडौं । आयात–निर्यात सहज बनाउन सरकारले दुई दशकपछि भन्सार एजेन्ट थप गर्ने भएको छ । २०५६ सालदेखि रोकिएको भन्सार एजेन्टको लाइसेन्स परीक्षा चालु आर्थिक वर्षभित्रै हुने भएको हो ।

भन्सार विभागले नयाँ भन्सार एजेन्ट थप्नको लागि काम शुरू गरिसकेको छ । विभागले यस वर्ष नै करिब ६०० नयाँ भन्सार एजेन्ट थप्ने प्रक्रिया शुरु गरेको भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले बताए । ‘कार्यविधि र पाठ्यक्रम तयार गरी विभागले भन्सार एजेन्टलाई लाइसेन्स दिने प्रक्रिया थालिसकेको छ’, घिमिरेले भने ।

भन्सार विभागले नयाँ दिन लागेको लाइसेन्स पाउने करिब ६०० भन्सार एजेन्टले विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन् । भन्सार एजेन्ट महासंघका अध्यक्ष शान्तकुमार शर्माले भन्सारबाट सामान आयात–निर्यात गर्दा ९० प्रतिशत काम भन्सार एजेन्टले नै गर्ने गरेको बताए ।

भन्सार विभागले २० वर्षअघि ४०० भन्सार एजेन्टलाई लाइसेन्स दिएको थियो । त्यसबेला लाइसेन्स लिएका एजेन्टमध्ये अहिले १७० मात्रै काममा छन् । २० वर्ष पहिले एजेन्टको लाइसेन्स लिंदा परीक्षा भएको थिएन । तर यस वर्ष भने विभागले परीक्षा लिएर नै नयाँ लाइसेन्स दिने भएको छ ।
एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित परीक्षा लिने विषयमा विभागले लोकसेवा आयोगसँग छलफल गरिरहेको घिमिरेले बताए । सरकारी तलब र भत्ता नखाने व्यक्तिलाई लोकसेवाले परीक्षा लिन मिल्छ कि मिल्दैन भनेर विभाग र आयोगबीच छलफल भएको उनले जानकारी दिए ।
एजेन्टलाई विभागले लाइसेन्स दिए पनि सरकारी कोषबाट तलब–भत्ता खुवाउनुपर्दैन । सामान आयातकर्ता वा निर्यातकर्ताले नै भन्सार एजेन्टलाई पारिश्रमिक दिन्छन् । तर, पनि विभागले भने आफ्नो ऐनअनुसार परीक्षा लिने तयारी गरेको हो ।

२०६१ सालमा भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । त्यसै अनुसार भन्सार विभागले अहिले ऐन परिमार्जन गरी परीक्षा लिन लागेको हो ।

भन्सार एजेन्टले व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् । मालसामान आयात प्रक्रियामा व्यवसायीले एजेन्टलाई आफ्नो प्रतिनिधि नियुक्त गरेका हुन्छन् । ती एजेन्टले नै व्यवसायीको सामानको राजस्व बुझाउने र भन्सार जाँचपास गर्ने गर्छन् । त्यसको अन्तिम जाँच भने भन्सारका कर्मचारीबाट हुन्छ ।

के चाहिन्छ एजेन्ट बन्न ?
भन्सार एजेन्ट बन्न बीए वा सोसरहको शैक्षिक योग्यता चाहिनेछ । प्रविधिको प्रयोग भएका भन्सार विन्दुहरूमा अनिवार्य भन्सार एजेन्ट हुने भएकाले साधारण कम्प्युटर चलाउन सक्ने हुनुपर्छ ।

भन्सार एजेन्टको इजाजतपत्र लिन इच्छुक व्यक्तिका लागि दरखास्त माग गरेपछि २१ वर्ष पूरा भएको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । २०६५ सालमा भन्सार एजेन्टको प्रतिनिधि नियुक्त भई दुई वर्ष काम गरेको व्यक्तिलाई सम्बन्धित भन्सार कार्यालय प्रमुखले सो व्यहोरा प्रमाणित गरेमा शैक्षिक योग्यता आवश्यक पर्दैन । काम गरेकालाई आईए वा सो सरहको योग्यता भए पुग्छ । तर, परीक्षामा सबै समान रूपमा सहभागी भने हुनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर