सांसदहरुले घच्घच्याए, तर देउवा ‘रिजर्भ’ – Nepal Press
कांग्रेस संसदीय दल बैठक

सांसदहरुले घच्घच्याए, तर देउवा ‘रिजर्भ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सरकारको नेतृत्व गर्ने विषय परिपक्व भइनसकेको बताएका छन् । बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा दलको नेतासमेत रहेका देउवाले सत्तारुढ पार्टी विभाजन भइनसकेकोले तत्कालै सरकारबारे पार्टीले निर्णय लिन आवश्यक नरहेको धारणा राखे ।

सांसदहरुलाई अब पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे सुझाव दिन आग्रह गर्दै बैठक सुरु गरेका देउवाले सरकारमा जाने वा नेतृत्व गर्नेबारे छलफल गर्ने बेला भइनसकेको बताए ।

‘अहिले संसदमा कसरी प्रभावकारी भूमिका खेल्ने भनेर सुझाव दिनुहोला । सरकारबारे कुरा गर्ने बेलै भाको छैन’, बैठकमा उनले भने ।

आइतबार सुरु हुने संसद अधिवेशनमा नेकपाको दुवै पक्षले लिने रणनीति अनुसार कांग्रेसले ‘धैर्य’ गरेर निर्णय लिनुपर्ने देउवाको भनाइ थियो ।

‘अहिले नयाँ सरकार बनिहाल्ने गुञ्जायस छैन । जब बेला आउँछ त्यतिबेला छलफल गरौंला नि’, उनले भने । संसदमा सरकार परिवर्तन र नयाँ सरकार गठनको विषय आएपछि मात्रै कांग्रेसले निर्णय लिने पनि उनले बताए ।

बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रस्ताव आउनसक्ने अनुमान विपरीत देउवाले सरकारबारे कुरा नगर्न निर्देश गरेपछि सांसदहरु अल्मलिएका थिए ।

‘शेरबहादुरदाइले ३–४ पटक सरकारको बारेमा अहिले कुरा नगरौं भन्नुभयो तर बोल्नेजति सबैले सरकार र सत्ता समीकरणबारे नै धारणा राखेका छन्’, एक सांसदले भने ।

बैठकमा बोल्ने सबैजसो सांसदहरुले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चालेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षसँग कांग्रेसले सहकार्य गर्न नहुनेमा जोड दिएका थिए । ‘हामीले नै ओलीले असंवैधानिक काम गरेको आरोप लगाएका छौं त्यसैले ओलीसँग मिल्नेबारेमा सोच्नसम्म हुन्न । ओलीको सरकार हटाउन अरुसँग सहकार्य गर्न सकिन्छ’ सांसद भीमसेनदास प्रधानले भने ।

बैठकमा सांसद गगन थापाले प्रधानमन्त्री ओलीलाई संसदबाटै हटाउनुपर्ने र प्रचण्ड–माधव पक्षसँगको सहकार्यमा पनि सचेत हुनुपर्ने बताएका थिए । सांसद जीपछिरिङ लामाले देउवासामु फेरि प्रधानमन्त्री बनेर मुलुकलाई निकास दिने अवसर आएको बताए । सांसद प्रकाश रसाइली स्नेहीले प्रधानमन्त्री मात्रै नभई राष्ट्रपतिलाई समेत संसदबाटै दण्डित गर्नुपर्ने धारणा राखे ।

सांसदहरुले धारणा राखिसकेपछि सभापति देउवाले सरकारबारे पार्टीभित्र शीर्ष तहमा छलफल हुने, पार्टी केन्द्रीय समितिले आवश्यक सैद्धान्तिक निर्णय गर्ने र सांसदहरुसँग उपयुक्त बेलामा छलफल हुने बताए ।

‘संसदमा राम्रो भूमिका खेल्नुहोला । कोभिड भ्रष्टाचारको कुरा उठाउनुहोला । सरकारबारे बेला आएपछि भनिहाल्छौ’, सभापति देउवाले भने । बैठकमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसदहरुले केन्द्रीय समितिको बैठक बोलाउन माग समेत गरेका थिए ।

कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँणले संसदीय दलमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल भएको बताए । अविश्वास प्रस्ताव ल्याउने वा सत्ता सहकार्यबारे बैठकले कुनै निर्णय नगरेको भन्दै खाँणले सत्ताको विषय संसदमा प्रवेश गरेपछि मात्रै कांग्रेसले बोल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *