दैलेखको आठबीसमा अत्याधुनिक प्रविधिसहितको स्वास्थ्य सेवा – Nepal Press

दैलेखको आठबीसमा अत्याधुनिक प्रविधिसहितको स्वास्थ्य सेवा

सुर्खेत । अन्यत्र स्वास्थ्य सेवामा अत्याधुनिक प्रविधिको प्रयोग भइरहेको समयमा दैलेखको पश्चिम क्षेत्रका नागरिकले एक्सरे र भिडियो एक्सरेको सुविधा पाउँदा खुशी हुनुपरेको अवस्था छ ।

दैलेख सदरमुकामबाट बीस कोष पश्चिममा पर्ने राकम कर्णालीमा नगरपालिकाको सहयोगमा भिडियो र एक्सरे मेसिन जडानको काम सम्पन्न भएको हो ।

अब सामान्य चोटपटक लागेको वा हात भाँचिएका, गर्भवती महिला आदिलाई चेकजाँचको लागि कालिकोट जिल्ला अस्पताल, अछाम वा सुर्खेत आउनुपर्ने अवस्थाको अन्त्य हुने भएको राकम कर्णाली स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम वडा नं. ४ का अध्यक्ष रणबहादुर माझीले नेपाल प्रेसलाई बताए ।

‘कर्णाली राजमार्गमा रहेको बजार तथा यस क्षेत्रमा बसोबास गर्ने तीसौं हजार नागरिकले अहिलेको जमानामा एक्सरे गर्न पनि बाहिर जानुपर्ने अवस्था आएको थियो । विगतदेखि नै यो समस्याबाट हामी गुज्रिरहेका थियौं ।’ उनले भने, ‘तर अब मेसिन जडान भएका छन् । दुइ चार दिनमै हामी समितिको वैठक बसेर सेवा सञ्चालन गर्नेछौं । यसबाट यहाँका नागरिकलाई धेरै राहत हुने अपेक्षा हामीले गरेका छौं ।’

स्वास्थ्य चौकी प्रमुख किरण माझीले एक्सरे, भिडियो एक्सरे मेसिन जडान भइसकेको बताए ।

‘अब प्रिन्टर लगायतका केहि सामान एक दुइ दिनमा नै आइपुग्दैछन् । ती सबै मेसिन आएको एक दुइ दिनमै हामी एक्सरे, इसिजी लगायतका नयाँ सेवा प्रवाह गर्दैछौं ।’ उनले भने, ‘इसिजीका लागि कोठा अभाव भएका कारण अहिले कोठा व्यवस्थापनमा हामी जुटिरहेका छौं ।’

मध्यपहाडी राजमार्ग अन्र्तगतको नयाँ शहर राकम कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक जना मेडिकल अफिसर पनि पठाएको छ ।

प्रतिष्ठानले राकम कर्णालीमै शिक्षण अस्पताल खोल्ने गरि जग्गा पनि पाइसकेको छ । ‘अहिले प्रतिष्ठानबाट डा. कृष्ण भुसालले यहाँ बसेर सेवा प्रवाह गरिरहनु भएको छ ।

यसका अलावा केही समयपछि अर्थोपेडिक र एमडिजीपी डाक्टरहरु पनि प्रतिष्ठानले राकम कर्णालीमा पठाउने आश्वासन दिएको छ ।’
नगर स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले भने, ‘ल्याव हामीले स्थापना गरिसकेका छौं । मेसिनका लागि नगरपालिकाले बजेट दिएको थियो । १८ लाख ५८ हजार ८५० रुपैंयामा एक्सरे गर्ने मेसिनहरु आएका हुन ।’

उनले राकम कर्णाली स्वास्थ्य चौकीमा ट्रमा युनिट सञ्चालन गर्ने तयारी सुरु भएको जानकारी दिए । ‘सडक दुर्घटनामा परेकाहरुको उपचार गर्नका लागि हामीले ट्रमा युनिट स्थापना गर्ने भएका छौं ।

यसका लागि आवश्यक पर्ने पूर्वाधारबारे अध्ययन गर्न वायो इन्जिनियर आइसकेका छन् । युनिट स्थापना भएको खण्डमा साना अप्रेसन राकममै गर्ने योजनाका साथ हामी लागिरहेका छौं ।’ उनले भेन्टिलेटरसहितको सेवा प्रवाह गर्नकालागि आफूहरु लागिपरेको बताए ।

मोतियाविन्दुको अप्रेसन हुँदै

यसैबीच, आठबीस नगरपालिका वडा नं. ४ को जनज्योती माध्यमिक विद्यालयमा मोतियाविन्दुको अप्रेशन शिविरि सुरु हुने भएको छ ।

फागुन २३ देखि २५ गतेसम्म सञ्चालन हुने शिविरका लागि अहिले हरेक वडामा छनौट शिविर सञ्चालन भइरहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाका अनुसार सात्तालामा ६० जना, सिगौंडीमा १८ जना, सिंहासेनमा सात जना, पिपलकोटमा ७ जना, छेपाडीमा २० जना, तिलेपाटामा २० जना मोयिाविन्दु अप्रेशनका लागि छनौट भइसकेका छन् । अम्काना, निमायल र राकम कर्णालीमा छनौट शिविर सञ्चालन भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर