निश्चित मापदण्डका आधारमा विद्यालय छनौट गर्ने गरी विवरण पेश गर्ने केन्द्रको निर्णय – Nepal Press

निश्चित मापदण्डका आधारमा विद्यालय छनौट गर्ने गरी विवरण पेश गर्ने केन्द्रको निर्णय

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सूधार कार्यक्रमका लागि निश्चित मापदण्डका आधारमा रहेर विद्यालयको छनौट गर्ने तर्फ यथाशक्य छिटो गृहकार्य गरेर निर्देशक समितिको बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

केन्द्रकाे कार्यालय सानोठिमीमा शुक्रबार भएकाे छलफलमा कार्यक्रमको लागि यस वर्ष आवेदन माग गरेका विद्यालयको विवरण एकिकृत गर्ने, दोहोरो नपर्ने गरी आवश्यकताका आधारमा प्राथमिकीकरण गर्ने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन निर्देशिका २०७६ को व्यवस्था अनुसार उक्त स्रोतलाई बालविकास केन्द्रको सुधार, शिक्षणमा प्रविधिको प्रयोग र प्रवर्तनात्मक एवं सिर्जनात्मक खोजमा समेत परिचालन गर्न सकिने गरी उपयुक्त विकल्पको पहिचान गर्नेगरी निर्देशक समितिको बैठकमा पेश गर्ने निष्कर्ष निकालेको हो ।

साथै छात्रवृत्ति कार्यक्रमलाई दोहोरो नहुने गरी कार्यान्वयन गर्ने, लक्षित एवं तोकिएको वर्गलाई नै छात्रवृत्ति प्रदान गर्ने व्यवस्थाको लागि लाभान्वित विद्यार्थीको अभिलेख प्रमाणित गर्ने, तत्काल छात्रवृत्तिको रकम उपलब्ध गराउने र जुन प्रयोजनका लागि छात्रवृत्ति उपलब्ध गराइएको हो सोही प्रयोजनमा उपयोग गरे नगरेको सम्बन्धमा तथा छात्रवृत्ति प्राप्त गरेको विद्यार्थीको पढाइ निरन्तरता भए नभएको सम्बन्धमा सम्बन्धित विद्यालय तथा शिक्षण संस्थालाई जिम्मेवार बनाउने गरी सम्बन्धित सबै विद्यालयमा निर्देशन गर्ने दिने पनि बैठकले निर्णय गरेको छ ।

विद्यार्थीको छात्रवृत्ति रकम तत्काल वितरण गर्ने तथा छात्रवृत्ति वितरणलाई आगामी दिनमा सहज, पारदर्शी र थप प्रभावकारी बनाउनेतर्फ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आवश्यक व्यवस्थापन गर्ने निर्णय पनि भएको विभागले जनाएको छ । छलफलमा विद्यालयमा हुने लैङ्गिक हिंसा न्युनिकरण, स्वयम सेवक शिक्षक परिचालन, विद्यालय एकीकरण तथा समायोजन, शिक्षक दरबन्दी मिलानका विषयमा पनि हालको प्रगति र अबको कार्य योजना बारेमा पनि समिक्षा गरिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको उपस्थितिमा भएको छलफलमा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याल, उपमहानिर्देशक अण प्रसाद न्यौपाने, विष्णु प्रसाद अधिकारी समेतको सहभागिता थियो ।

छलफल कार्यक्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र विद्यार्थीलाई उपलब्ध गराउने विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम कार्यान्वयनको सन्दर्भमा हालसम्म भएका उपलब्धी एवं प्रगति तथा उक्त कार्यक्रमलाई अझ प्रभावकारी ढंगबाट सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर