विप्लवको प्रशंसा गर्दै ओलीले भने- साहसिक काम गर्नुभयो, बधाई छ – Nepal Press

विप्लवको प्रशंसा गर्दै ओलीले भने- साहसिक काम गर्नुभयो, बधाई छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आउनु ऐतिहासिक काम भएको बताएका छन् । उनले नेपाल ‘अन्तिम किस्तामा’ शान्तिपूर्ण युगमा प्रवेश गरेको घोषणा गरे ।

विप्लव समूहसँग सरकारले गरेको तीनबुँदे सम्झौतामा हस्ताक्षरपछि बोल्दै ओलीले यस्तो घोषणा गरेका हुन् ।

उनले भने, ‘ऐतिहासिक काम भएको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । नेपालमा हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन । अर्थात् नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ ।’ केही दिनअघि संयुक्त राष्ट्रसंघको मूल्यांकनमा नेपाल शान्तिको पारामिटरमा अगाडि देखिएको सन्दर्भ उनले प्रस्तुत गरे ।

‘राष्ट्रसंघको शान्ति पारामिटरमा नेपाल शान्तिको मापदण्डमा अमेरिका, भारत, पाकिस्तानजस्ता देशहरुभन्दा धेरै अगाडि थियो । झन् भरे बेलुका राष्ट्रसंघले मूल्यांकन गर्‍यो भने के भन्ला ?’

कार्यक्रममा ओलीले विप्लवको प्रशंसा गर्दै उनले साहसिक कदम चालेको बताए ।

‘म विप्लवजीलाई बधाई दिन चाहन्छु, उहाँले साहसिक कदम चाल्नुभएको छ । एउटा बाटोमा हिंडिरहँदा कार्यकर्तालाई मोड्न गाह्रै हुन्छ । उहाँले सफलतापूर्वक गर्नुभयो । यो फोर्सल्यान्डिङ होइन, क्रयासल्यान्डिङ होइन, सेफल्यान्डिङ हो ।’

ओलीले १०/१२ वर्ष अगाडि नै विप्लवसँग भेटेर आफूले लामो छलफल गरेको खुलासा गरे ।

‘हामीबीच त्यो बेला एक/डेढ घण्टा गहन छलफल भएको थियो । हामीबीच विश्वासको बीउ रोपिएको त्यही छलफलबाट हो’, ओलीले भने ।

सम्वोधनको शुरूआतमा नै ओलीले भर्खरै जेलबाट छुटेर आएका विप्लव समूहका नेता धमेन्द्रलाई बधाई दिएका थिए । ठट्टा गर्दै ओलीले भने, ‘धमेन्द्रजीलाई बधाई छ, यति छिट्टै जेलबाट निस्कन पाए पो । आफू त १४ वर्ष…’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर