ऋषि कट्टेलको मुद्दामा आइतबार फैसला, नेकपाको आधिकारिकता कसले पाउला ? – Nepal Press

ऋषि कट्टेलको मुद्दामा आइतबार फैसला, नेकपाको आधिकारिकता कसले पाउला ?

काठमाडौं । अदालतमा सार्वजनिक बिदाका कारण बिहीबार हुन नसकेको नेपाल कम्युनिष्‍ट पार्टीको नाम सम्बन्धी मुद्दाको फैसला आइतवार हुने भएको छ । नेकपा अध्यक्ष ऋषि कट्टेलले २ वर्षअघि सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ सकिएपछि बिहीबार निर्णय सुनुवाइको मिति तोकिएको थियो ।

तर, यसबीचमा पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण बिहीबार अदालतहरूमा बिदा दिइएका कारण निर्णय सुनुवाइ सरेको थियो । सो मुद्दाको फैसला अब आइतबर हुने भएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्‍ट पार्टी नामाकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेल आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।

निर्वाचन आयोगले कट्टेलको मागविपरीत निर्णय गरेपछि उनी अदालत गएका थिए । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता कट्टेललाई दिएमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।

दुवै अध्यक्ष रहेको नेकपा प्राविधिकरूपमा फुटे पनि कानुनी रूपमा फुटेको छैन । यदि ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर नाम नदिए आयोगले नै नेकपाको अर्को नाम राखिदिन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर