नेकपाको एकता जोगाउने अन्तिम अवसरको सदुपयोग गरौं – Nepal Press

नेकपाको एकता जोगाउने अन्तिम अवसरको सदुपयोग गरौं

संसद विघटनपछि चुनावमा जाने कि पुन:स्थापना गर्ने भन्ने विवाद थियो । हामी चुनावको पक्षमा थियौं । तर, सर्वोच्चले एउटा फैसला गरिदियो । चुनावमा जाँदा देश स्थिरतातिर जान्छ । चुनाव भनेको अस्थिरताको बाटो होइन । चुनाव समस्या समाधानको बाटो हो ।

अस्थिरताको अन्त्य गर्ने बाटोलाई रोकेर सर्वोच्चले संसद पुन:स्थापना गरिदिएको छ । यसले फेरि पनि देशमा अस्थिरता हुन्छ । संसदभित्र ‘हर्स ट्रेडिङ’ शुरू भयो । यी सब कुरा नगर्नका लागि हामीले जनमत माग राखेर यो ठाउँमा आइपुगेका थियौं ।

आज यसले (संसद पुन:स्थापना) ले पार्टी-पार्टीमा विभाजन र विवाद भएको छ । कारण यही हो । नेपाल कम्युनिष्ट पार्टीको विवाद छँदै थियो, भावनात्मक रूफमा २ वटा पार्टी भइसकेका छन् । नेपाली कांग्रेसभित्र पनि २ धारमा विवाद देखिन्छ ।

जनता समाजवादी पार्टीभित्र पनि साविक राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबीच देखिने गरेर विवाद शुरू भइसकेको छ । देखिने गरी गुटबन्दी देखिन्छ ।

यी सबै गुटबन्दीमा खेल्ने ठाउँ, हर्स ट्रेडिङ, सांसद खरिदबिक्रीको ठाउँ शुरू हुने, तानातान हुने अवस्था सिर्जना हुन्छ भनेर चुनावमा जाने भनेका थियौं । तर, नेपाल सरकारको सिफारिसलाई सर्वोच्चले उल्ट्याइदिएका कारण नेपाली राजनीति नयाँ कोर्समा खोजेको छ ।

यस्तो परिस्थितिमा हामीले लोकतन्त्रको एउटा मूलभूत मूल्य र मान्यतालाई विश्वास गर्ने पार्टी, शक्ति पृथकीकरण सिद्धान्तलाई विश्वास गर्ने पार्टी र न्यायपालिकाको स्वतन्त्रताको वकालत गर्दै आएको पार्टीका हैसियतले सर्वोच्चको फैसला मन नपरेपनि, अप्रिय लागेपनि न्याय पालिकाको निर्णयलाई शिरोधार्य गर्छौं । त्यसलाई कार्यान्वयन गर्ने ठाउँमा सरकार लागिरहेको छ ।

सर्वोच्चकै आदेश बमोजिम संसदीय बैठक बोलाउने भनेका छौं । यसैबीचमा पार्टीभित्र जुन खालको समस्या पैदा भएको छ, त्यो समस्या नहोस् भनेर हामी फेरि यो भावानात्मक रूफमा फुटिसकेको पार्टीलाई जुटाउन सकिन्छ कि ! जुटाउन के-के विकल्प हुन सक्छन् भनेर लागिरहेका छौं ।

सर्वोच्चको फैसलापछि हामीसँग अहिले मुख्य त दुई विकल्प छन् :-

पहिलो : विभाजित आफ्नै पार्टी नेकपाभित्र सहमति खोज्ने ।

वैमनश्यताले दुईतिर फर्किएको पार्टीलाई एकैतिर फर्काउन के-के विकल्प हुन सक्छन् ? कसरी फेरि एकै ठाउँमा ल्याउन सकिन्छ भन्ने विकल्पको खोजीमा छौं । एउटा विकल्प यही नै हो ।

दोस्रो  : नेपाली कांग्रेससँग समर्थन खोज्ने ।

नेपाली कांग्रेसको समर्थनमा केपी ओलीकै नेतृत्वमा सरकार बनाउन सक्ने विकल्प रहन सक्छ । या नेपाली कांग्रेसकै समर्थनमा प्रचण्ड-माधव समूहको सरकार बन्न सक्ने अवस्था पनि रह्यो । वा प्रचण्ड-माधवकै समर्थनमा नेपाली कांग्रेसको सरकार बन्न सक्ने सम्भावना पनि सक्ने देखिन्छ । केपी ओलीकै नेतृत्वको दलले नेपाली कांग्रेसलाई समर्थन गरेर अर्को सरकार बन्ने सम्भावना पनि त्यत्तिकै छ ।

यी र यस्ता धेरै विकल्प हामीसँग छन् । तर, यी विकल्प समस्या समाधानका विकल्प भने होइनन् । तत्कालका लागि सिर्जित संसदको अवस्थालाई कमसेकम अन्त्य गर्ने र सरकार निर्माण गरेर जनतालाई अभिभावक दिने हो ।

त्यसैपनि डेढ वर्षपछि चुनावमा जानैपर्छ । अब नयाँ सरकार बनेपछि ५/६ महिनासम्म अविश्वासको प्रस्ताव ल्याउनै पाइँदैन । त्यही ४/५ महिनाका लागि जुन ढंगको हतारोको कुरा, अविश्वासको प्रस्ताव ल्याउने काम भइरहेका छन्, त्यो यो मुलुकमा अस्थिरता चाहने, समृद्धिको अभियानमा बाधा, अवरोध सिर्जना गर्ने, बाहिरबाट आक्रमण गर्न नसकेर पार्टीभित्रै अन्तद्र्वन्द्व सिर्जना गर्ने, अन्तरविरोध सिर्जना गरिदिने डिजाइन छ । यो डिजाइनमा नेपालका राजनीतिक दल, दलका नेताहरू शिकार भएका छन् ।

नेपाल कम्युनिष्‍ट पार्टी भावनात्मक रूफले विभाजित भइसक्या छ । नेताहरुको रिभेन्ज पोलिटिक्सले विभाजित छ, मन बेमेल हुँदा विभाजित छ । तर, अहिलेसम्म कानुनी रूफमा एउटै छ । त्यसकारण हामी अहिले पनि फेरि भावनात्मक रूफमै एक बनाउन सकिन्छ कि भनेर लागिरहेका छौं । पार्टीलाई फेरि जोगाउन सकिन्छ कि भनेर प्रयत्नशील छौं । फेरि एकताद्ध भएर त्यही पार्टीकै सरकारलाई निरन्तरता दिन सकिन्छ कि भन्ने अभियानमा छौं ।

संसदमा ६४ प्रतिशतभन्दा बढी बहुमत प्राप्त नेकपाको सरकारलाई नै कसरी एकताबद्ध बनाएर लैजान्छ, कसरी त्यसलाई नै निरन्तरता दिन सकिन्छ र फेरि मुलुकमा स्थिरता प्रत्याभूति गराउन सकिन्छ भन्ने अवसर हामीसँग छ । मुलुकको अस्थिरता अन्त्य गर्न यो अवसरको सदुपयोग हामी सबै लाग्नुपर्छ । राष्ट्रिय स्वाभिमानको पक्षमा आवाज उठाउन जरुरी छ ।

गण्डकी प्रदेश सरकारले स्वास्थ्य तालिम केन्द्रमा बनाउन लागेको खोप भण्डार कक्षको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेको मन्तव्यको सम्पादित अंश ।

प्रस्तुति : विकाश रोकामगर/पोखरा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *