के हो ४८ वर्षअघिको सुखानी काण्ड ? – Nepal Press

के हो ४८ वर्षअघिको सुखानी काण्ड ?

विप्लवसँगको सार्वजनिक कार्यक्रमका कारण प्रधानमन्त्री श्रदाञ्जली सभामा नजाने

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको झापा विद्रोहका अगुवा मारिएको स्थान सुखानीमा श्रदाञ्जली सभामा सहभागी हुने कार्यक्रम स्थगित भएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सुखानीमा आयोजित श्रदाञ्जली सभामा प्रधानमन्त्री आउने कार्यक्रम स्थगित भएपछि सो कार्यक्रममा १ का प्रमुख सोमनाथ अधिकारी प्यासी सहभागी हुने कार्यक्रम तय भएको बताए।

विर्तामोडमा तय गरिएको जनसभा पनि स्थगित गरिएको छ ।

सरकारसँगको वार्ता सफलतापछि विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा अवतरण गरेसँगै आज काठमाडौंमा विप्लवसहितको सार्वजनिक कार्यक्रम तय भएकोले ओली उपस्थित नहुने भएका हुन् ।

के हो सुखानी काण्ड ?

२०२७ सालमा केपी ओली, सीपी मैनाली लगायतको नेतृत्वमा झापा क्रान्ति शुरु भएको थियो ।

तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा क्रान्तिमा सहभागी कम्युनिष्‍ट योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन सत्ताले जेल सार्ने बहानामा इलाम र झापाको सिमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरेको थियो । सोही घटना ‘सुखानी काण्ड’ को नामले चर्चित छ ।

कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउने झापा विद्रोहसँगै ढलेका उनीहरूलाई सरकारले २०७२ फागुन १८ गते शहीद घोषणा गर्‍यो ।

सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले सहादत गरेको नमुना सामुदायिक वन क्षेत्रभित्र पाँच शहीदको पूर्णकदको शालिक निर्माण गरेको छ ।

इलाम र झापाको सिमानामा पर्ने घटनास्थललाई शहीद स्मारकको नाम दिएर संरक्षण गरी राखिएको छ ।

यो वर्ष यीनै पाँच शहीदको अर्ध कदको शालिक स्थापना गरिएको छ । पाँचजना योद्धाहरुको हत्या गरिएको स्थललाई शहीद स्मारकको नाम दिएर संरक्षण गरी राखिएको छ । हत्या गरिएकै ठाउँमा अहिले शहीदकै संख्याका पाँच रुख छन् । सुखानी दानाबारी इलाम र झापाको सिमानामा पर्छ ।

२०७१ मा झापाको तत्कालीन शनि-अर्जुन नगरपालिका क्षेत्रभित्र सालघारीमा शहीद पार्कको निर्माण गरिएको छ ।

प्रचण्ड र डा. बाबुराम भट्टराईले समेत झापा विद्रोहलाई तत्कालीन १० वर्षे जनयुद्धको प्रेरणाको स्रोत भएको बताउने गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर