काठमाडौंमा विप्लवको पहिलो भेट प्रधानमन्त्रीसँग, बालुवाटारमा हुने भो इन्ट्री – Nepal Press

काठमाडौंमा विप्लवको पहिलो भेट प्रधानमन्त्रीसँग, बालुवाटारमा हुने भो इन्ट्री

काठमाडौं । सरकारले प्रतिबन्ध फुकुवा गरेको भूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आज सार्वजनिक हुँदैछन् । राष्ट्रियसभाबाट सार्वजनिक हुनुअघि विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने भएका छन् ।

सरकारसँगको वार्ता सफलतापछि शान्तिपूर्ण राजनीतिमा अवतरण गर्न पाएका विप्लवले आज राष्ट्रियसभागृहमा प्रधामन्त्रीसँगै एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । त्यहाँ सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही नेकपाको तर्फबाट विप्लवले सहमतिमा हस्ताक्षर समेत गर्ने कार्यक्रम छ ।

स्रोतका अनुसार उनी काठमाडौं आउनासाथ सीधै प्रधानमन्त्री निवास बालुवाटार जानेछन् । त्यहाँ प्रधानमन्त्रीसँग उनले भावी रणनीतिबारे छलफल गर्नेछन् । विप्लवले ओलीलाई देशभक्त नेता भन्ने गरेको र राष्ट्रियताको आन्दोलनमा सहकार्य गर्न सकिने बताएको स्रोतको भनाइ छ ।

त्यसैले बालुवाटारमा दुई नेताबीच राजनीतिक विषयमा छलफल हुनेछ । यसअघि तत्कालीन विद्रोही माओवादीका नेताहरू प्रचण्ड र बाबुराम भट्टराईलाई पनि शान्ति वार्ताको सफलतापछि कास्कीको सिकलेसबाट हेलिकोप्टरमा सीधै बालुवाटार लगिएको थियो । विप्लव र प्रधानमन्त्री ओलीबीच छलफलपछि सभागृहबाट सहमतिका विषय सार्वजनिक हुनेछन् ।

सरकारी वार्ता टोली र विप्लवको वार्ता टोलीबीच बालुवाटारमै वार्ता भए पनि प्रधानमन्त्रीसँग भने भेट भएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर