नेकपा संसदीय दलको लफडामा सभामुख र संसद सचिवालयकै लय मिलेन – Nepal Press

नेकपा संसदीय दलको लफडामा सभामुख र संसद सचिवालयकै लय मिलेन

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले संसदीय दलको नेताबाट केपी ओली, उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई हटाइएको दाबीसहितको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ ।

अपरान्ह सचिवालय पुगेर देव गुरुङ सहितका नेताले यो जानकारी गराएका हुन् । गुरुङलाई दलको मुख्य सचेतकबाट ओलीले हटाएर विशाल भट्टराईलाई नियुक्त गरिसकेका छन् । सचिवालयले भट्टराईलाई नेकपाको मुख्य सचेतकका रुपमा मान्यता दिइसकेको छ ।

सचिवालयले विशाल भट्टराईलाई प्रमुख सचेतकको सुविधा र मान्यता दिइसके पनि सभामुख अग्नि सापकोटाले भने भट्टराईलाई भेट्न मानेका छैनन् । सत्ता पक्षको मुख्य सचेतकले भेट्न पाँच पटक समय माग्दा पनि सापकोटाले भेट्न नमानेको स्रोतले जनाएको छ ।

मुख्य सचेतकका रुपमा कार्यव्यवस्था परामर्श समितिको स्वतः सदस्य हुन्छन् । सभामुखले संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नुपर्छ । सो बैठकमा सहभागी हुन नदिने नियतले शान्ता चौधरीलाई समेत कारबाहीको घोषणा प्रचण्ड माधव पक्षले गरेको हो ।

तर सभामुखले कार्यव्यवस्था परामर्श समितिमा दलका मुख्य सचेतक र सचेतक सहितका सदस्यलाई नबोलाए सत्तापक्षका सांसदले संसद चल्न नदिने तयारी भइरहेको छ । सभामुख र सचिवालयकै बीच यस विषयमा कुरा नमिल्दा समस्या भएको बताइन्छ ।

सचिवालयले कानून र संविधान हेर्नुपर्ने भन्दै नेकपाको कानूनी विभाजन र दलको नेता हटाउने वैधानिक प्रक्रिया टुंगो नलाग्दासम्म प्रधानमन्त्री ओली नै दलको नेता हुने र दलको नेताले पदाधिकारी हटाउन र नियुक्त गर्न पाउने भएकाले त्यसमा संसद सचिवलाय प्रवेश गर्न नमिल्ने सुझाव सभामुखलाई दिएको छ ।

सभामुख भने ओली पक्षलाई कार्यव्यवस्था परामर्श समितिमा सहभागी नगराउने रणनीतिमा छन् । कार्यव्यवस्था समितिमा ओली पक्षबाट मुख्य सचेतक भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर