प्रदेश २ का प्रदेश प्रमु्ख अहिराज समकक्षी भेटघाटमा – Nepal Press

प्रदेश २ का प्रदेश प्रमु्ख अहिराज समकक्षी भेटघाटमा

रुपन्देही । ‘प्रदेश प्रमुख सेरोमोनियल हो तर ईनएक्टिभ होइन’ भन्ने अभियानसहित प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराज देशका बाँकी प्रदेश प्रमुखहरुसंगको भेटघाटमा निस्किएका छन् ।

दुईसाता अघिमात्रै प्रदेश प्रमुख नियुक्त भएका डा. अहिराज अहिले देशका अरु प्रदेश प्रमुखहरुसँगको भेटघाट र छलफलमा निस्किएका हुन् । बुधवार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवसँग भेटघाट गरेका डा. अहिराजले जानकी मन्दिर र पृथ्वीनारायण शाहको तस्विर चिनोको रुपमा प्रदेश प्रमुख यादवलाई प्रदान गरेका थिए ।

उक्त तस्विरलाई लुम्बिनी प्रदेशका प्रमुख यादवले महत्वका साथ बैठक कक्षमा तस्विर टाँगेको र त्यो तस्विर त्यहाँ सधै रहिरहनेमा आफु विश्वस्त रहेकोसमेत बताए । प्रदेश प्रमुखको शपथग्रहणपछि कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्विर राखेर आफ्नो काम शुरु गरेपछि डा. अहिराज देशभर चर्चामा आएका थिए ।

प्रदेश प्रमुख यादवसँगको भेटघाटपछि विहिबार बुटवलमा पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै डा. अहिराजले जसको अभियान र योगदानको कारण अहिले सिंगो नेपाल बनेको छ उनैको तस्विरलाई साक्षी राखेर आफुले काम शुरु गरेको र यो अभियान देशव्यापी बनाउने समेत बताए ।

उनले राज्यबाट पत्ताइएका निजामती कर्मचारीहरुलाई नपत्ताएर छुटै  स्वकिय सचिवालय राख्ने पक्षमा आफु नरहेको पनि बताए । डा. अहिराजले देश र राष्ट्रभन्दा ठूलो अरु केहि नभएको र आफ्नो प्रदेशका सबै राष्ट्रसेवकहरुलाई शिरमा देश र मनमा मधेश राखेर काम गर्न आग्रह गरेको बताए ।

प्रदेश प्रमुख सेरोमोनियल भएपनि अरु निकायभन्दा झनै एक्टिभ, अनुशासित र सतर्क हुनुपर्ने उनको भनाई छ । प्रदेश प्रमुख अभिभावक भएको र अभिभावक आफ्नो परिवारका अरु सदस्यभन्दा बढि सक्रिय, अनुशासित र सतर्क हुन नसके परिवारलाई बलियो बनाउन नसकिने भन्दै उनले प्रदेश प्रमुख सक्रिय हुन जरुरी रहेको बताए ।

प्रदेश प्रमुखको हैसियतले हरेक क्षेत्रमाथी कसरी निगरानी गर्ने भन्नेबारे सबै प्रदेश प्रमुखहरुबीच छलफल गर्नुपर्ने उनको भनाइ छ । प्रदेश प्रमुखले गर्न मिल्ने र गर्न नमिल्ने भन्नेबारे सातवटै प्रदेश प्रमुखले एउटै धारणा बनाउने गरि टिओआर तयार गरिएको र त्यसबारे छलफल गरी साझा निष्कर्ष निकालिने पनि अहिराजले बताए ।

हरेक प्रदेश प्रमुखले कम्तिमा महिनामा एकपटक राष्ट्रपतिलाई आफ्नो प्रदेशको बारेमा रिपोर्टिङ गर्नुपर्ने र दुई महिनामा सबै प्रदेश प्रमुखहरुले सामुहिक छलफल र रिपोर्टिङ गर्नुपर्ने आवश्यकता औंल्याए । आफु हरेक हिसाबले ७७ वटै जिल्लालाई जोड्ने अभियानमा लागेको भन्दै उनले जसको शुरुवात बुद्धजन्मस्थल लुम्बिनीबाट गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर