नेकपामा एकताको चहलपहल : शंकर पोखरेल र घनश्याम भुसालबीच घनीभूत छलफल – Nepal Press

नेकपामा एकताको चहलपहल : शंकर पोखरेल र घनश्याम भुसालबीच घनीभूत छलफल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी फेरि एक हुनुपर्ने आवाज बाक्लिएसँगै दुवैतर्फबाट एकताको कसरत हुन थालेको छ । दोस्रो तहका नेताहरू अनौपचारिक छलफल र संवादमा जुटेका छन् ।

प्रतिनिधिसभाको बैठक शुरू हुने दिन नजिकिएसँगै एकता प्रयासमा दोस्रो तहका नेताहरूको चहलपहल बढेको हो । यसै सिलसिलामा बिहीबार ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रचण्ड-माधव पक्षका नेता घनश्याम भुसालबीच छलफल भएको छ ।

सिंहदरबारमा भएको छलफल पार्टी एकतामै केन्द्रित थियो । भुसालले पार्टी एकता जोगाउने सिलसिलामा पहिलेदेखि आफूहरूबीच छलफल चलिरहेको र आज पनि त्यसकै निरन्तरता भएको बताए ।

एकताको पक्षमा पोखरेल र भुसालबाहेक वामदेव गौतम, विष्णु पौडेल, वर्षमान पुन, योगेश भट्टराईलगायतका नेताहरूसमेत निरन्तर रूपमा लागिरहेका छन् । गौतमले दुवै पक्षका दोस्रो तहका नेतालाई साथमा लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बाध्य पार्ने बताएका छन् ।

ओलीपक्षीय नेता महेश बस्नेत पार्टी एकता टुट्न हुँदैन भन्ने भावना दुवै पक्षको ठूलो पङ्क्तिमा भएको बताउँछन् । पहिले गुप्त ढंगले भइरहेका छलफल अहिले खुलारूपमा शुरू भएको उनको भनाइ छ ।

‘त्यही कुरामा हामी तीन/चार दिनदेखि गोप्य ढंगले बसिरहेका थियौं’ उनले भने, ‘अब आज-भोलिदेखि चाहिं एक्सपोज भएर बस्ने खालको वातावरण बनिरहेको छ ।’ बस्नेतले अहिले नै पार्टी एक भइहाल्ने अवस्था नआए पनि प्रधानमन्त्री कम्युनिष्टभन्दा बाहिर जान दिन नहुने कोणबाट भने कुरा मिलाउने प्रयत्न भइरहेको बताए ।

बिहीबार कोरोनाभाइरसविरुद्धको खोप लगाउन बानेश्वरस्थित निजामती अस्पताल पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै दुवै पक्षलाई एकताको निम्ति दबाब दिने बताए ।

‘एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भा’छैन’ गौतमले भने, ‘मेरो प्रयत्न चाहिं दुवैतिर रहेका दोस्रो पुस्ताका कमरेडहरूलाई एकताबद्ध गर्ने हो । एकताका पक्षमा नरहेका नेतालाई चारैतिरबाट घेराबन्दी गरेर बाध्य पार्नुपर्छ ।’


प्रतिक्रिया

One thought on “नेकपामा एकताको चहलपहल : शंकर पोखरेल र घनश्याम भुसालबीच घनीभूत छलफल

  1. Meri raya chain oli ra prachanda lai thundine 2nd generation ko leader pm chalaune party MN le chalaye huncha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर