दुई देशका सुरक्षा प्रमुखको छलफलपछि बेलहिया नाका सुचारु – Nepal Press

दुई देशका सुरक्षा प्रमुखको छलफलपछि बेलहिया नाका सुचारु

रुपन्देही । बुधबार भारतीय बजार सुनौलीतर्फ जाँदै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले महिलामाथि अभद्र व्यवहार गरेपछि बन्द रहेको सीमानाका बेलहिया दुई देशका सुरक्षा प्रमुखको समझदारीपछि खुलेको छ । बेलहियाकी ३९ वर्षीय महिलालाई एसएसबीले चेकजाँचका नाममा कपडा च्यातिदिएपछि बेलहियामा तनाव सिर्जना भएको थियो ।

एसएसबीको ज्यादतीपछि ठूलो संख्यामा उपस्थित हुँदै नेपाली पक्षले नाका घेराउ गरेका थिए । त्यसपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, प्रहरी प्रमुख प्रविन पोखरेल तथा भारतको महाराजगञ्जका सुरक्षा प्रमुख डीएम र एसपीसहितले छलफल गरेका थिए ।

छलफलमा महिलामाथि भएको अभद्र व्यवहारका विषयमा आवश्यक अनुसन्धान गर्ने तथा सिमा क्षेत्रमा देखिएका घटनालाई समाधान गर्ने गरी समझदारी भएपछि नाका खुलेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिएका छन् ।

उनले इलाका प्रहरी कार्यालय बेलहियामा भएको दुई देशका सुरक्षा प्रमुखको छलफलमा दुई पक्षले आआफ्ना देशमा देखिएका असमझदारी हटाउने सहमति गरिएको बताए । समझदारीपछि अहिले नाका पुर्ण रूपमा सुचारु भएको छ ।

छानविन गर्न परिवारको माग

नेपालीमाथि ज्यादती गर्ने भारतीय प्रहरीलाई नेपाली प्रशासनले थप सचेत बनाउनुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने पीडित महिलाका श्रीमानले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘मेरो श्रीमतीको कपडा च्यातेको विषय सामान्य होइन, बर्दी लगाएको प्रहरीले त्यसरी कसैमाथि अन्याय गर्न पाइदैन, यसको गम्भीर अनुसन्धान हुनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *