ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार – Nepal Press

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको असंवैधानिक प्रयास गरेको, सुशासन कायम गर्न नसकेको तथा जनमतको सम्मान गर्न नसकेको लगायतका निष्कर्षसहित ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न कांग्रेस तयार भएको हो ।

यसबारेमा औपचारिक निर्णय लिन सभापति शेरबहादुर देउवाले आजै पदाधिकारी बैठक बोलाएका छन् भने शुक्रबार (भोलि) संसदीय दलको बैठक बस्दैछ ।

सभापति देउवानिकट एक नेताले अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षसँग सहमति भइसकेको र जनता समाजवादी पार्टीसँग पनि छलफल चलिरहेको जानकारी दिए ।

‘वर्तमान सरकारले नैतिकरूपमा वैधता गुमाइसकेकोले संसदीय प्रक्रियाबाटै यसलाई विस्थापन गर्नुपर्छ भन्नेमा सहमति बनेको छ । केही कानूनी परामर्शमा छौं’ ती नेताले भने ।

प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नेकपा नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सहकार्यको प्रस्ताव गरेका थिए । नेकपा विभाजनको प्रतीक्षा सभापति देउवाले गरेको भए पनि प्रधानमन्त्री ओलीको निरन्तरताले नेकपा विभाजनमा ढिलाइ हुने देखेपछि अविश्वास प्रस्तावमा सहमति जुटेको छ । प्रचण्ड-माधव पक्षले संसदमा दर्ता गरेको अविश्वास प्रस्तावमा प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारका रूपमा प्रचण्डलाई अघि सारिएको छ ।

अब कांग्रेसको अगुवाईमा नयाँ संयुक्त प्रस्ताव दर्ता हुनेछ । जसमा देउवालाई प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारका रुपमा प्रस्तुत गरिनेछ । देउवालाई भेटेकै दिन नेकपा नेता नेपालले कांग्रेस नेताहरु कृष्ण सिटौला, डा.मिनेन्द्र रिजाल, रमेश लेखकलगायतलाई भेटेका थिए ।

संयुक्त अविश्वास प्रस्ताव ल्याउने विषयमा सहमति जुटेको सभापति देउवानिकट नेताले पुष्टि गरे पनि कांग्रेसले औपचारिक निर्णय भने गर्न बाँकी छ । यद्यपि पार्टीको बैठक बस्नै बाँकी छ तर भोलीसम्म अविश्वासको प्रस्ताव नयाँ आउछ होला’ ती नेताले नेपाल प्रेससँग भने । संयुक्त अविश्वास प्रस्ताव दर्ता गर्दाका कानूनी प्रश्न र त्यसको समाधानबारे नेताहरू परामर्शमा छन् ।

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा कांग्रेस र नेकपा प्रच्ण्ड-माधव पक्षबीच हप्तादिनयता विभिन्न चरणमा वार्ताहरू भएका थिए । कांग्रेसका तर्फबाट कृष्ण सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक तथा नेकपाबाट माधवकुमार नेपाल, जनार्दन शर्मा र वर्षमान पुनलगायतका नेताहरू अनौपचारिक छलफलमा जुट्दै आएका थिए ।

सहमति नजिक पुगेसँगै कांग्रेसले मंगलबार नै आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न अनौपचारिक सर्कुलर जारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर