सुनकोशी-मरिन डाइभर्सनको सपना पूरा हुँदै, आजै प्रधानमन्त्रीबाट शिलान्यास – Nepal Press

सुनकोशी-मरिन डाइभर्सनको सपना पूरा हुँदै, आजै प्रधानमन्त्रीबाट शिलान्यास

काठमाडौं । बहुप्रतीक्षित सुनकोशी-मरन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज शिलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिन्धुलीको कुसुमटारबाट सुनकोशी-मरिन डाइभर्सन आयोजनाको शुरुआत गर्दैछन् ।

सुनकोशी नदीको पानीलाई करीव १४ किलोमिटर लामो सुरुङबाट मरिन नदीमा जोडेर यो आयोजना बनाइनेछ । आयोजनाबाट ३१ मेगावाट बिजुली निकाल्ने तथा धनुषा महोत्तरी, सर्लाही, रौतहट र बाराकाे १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ पुर्याउने लक्ष्य राखिएको प्रधानमन्त्रीका विकास मामिला सल्लाहकार गजेन्द्र थपलियाले जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजना घोषित सुनकोशी–मरिन डाइभर्सनको शिलान्याससँगै काम अघि बढाइनेछ । सिन्धुलीको कमलामाई नगरपालिका–२ को कुसुमटारमा आयोजनाको शिलान्यास समारोह आयोजना गरिएको छ ।

प्रधानमन्त्री ओलीसँगै उर्जा जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी,वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत, चिनियाँ राजदूत होउ यान्छी लगायतको टोली पनि सिन्धुली जाँदैछ ।

ओली प्रधानमन्त्री भएपछि आर्थिक वर्ष २०७६-७७ को बजेटमा सुनकोशी–मरिन डाइभर्सन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो । आयोजना निर्माणका लागि २ अर्ब ५ करोड रुपैयाँको बजेट समेत विनियोजन भइसकेको छ ।

यसको लागि टेण्डर समेत आह्वान भइसकेको छ । सुनकोशी नदीको पानी मरिन हुँदै वाग्मतीमा मिसाई तराईमा सिंचाइको व्यवस्था मिलाउने गरी आयोजना निर्माण सुरु गरिएको छ । सो आयोजनाले जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम गरिरहेको छ ।

सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले पाएको छ । सो कम्पनीले १० अर्ब ५ करोड ६८ लाखमा आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *