श्रीलंकाबिरुद्ध पोलार्डको एकै ओभरमा ६ छक्का – Nepal Press

श्रीलंकाबिरुद्ध पोलार्डको एकै ओभरमा ६ छक्का

एजेन्सी । श्रीलंकाबिरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान किरोन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।

एन्टिगुवाको कुलिज मैदानमा आज विहान भएको खेलमा श्रीलंकाबिरुद्ध १ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा पोलार्डले श्रीलंकाली बलर अकिला धनन्जयलाई ६ छक्का प्रहार गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने पोलार्ड तेस्रो ब्याट्सम्यान बनेका छन् । यसअघि सन् २००७ को विश्वकपमा दक्षिण अफ्रिकाका हर्सल गिव्स र सन् २००७ को ट्वान्टी–२० विश्वकपमा भारतका युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

पोलार्डले धनन्जयको ओभरको पहिलो बलमा लङअनको क्षेत्रमा छक्का प्रहार गरे । दोस्रो बलमा स्ट्रेट, तेस्रो बलमा लङ–अफ, चौथो बलमा डीप मिडविकेट, पाँचौं बलमा स्ट्रेट र छैटौं तथा अन्तिम बलमा डीप मिडविकेट क्षेत्रमा छक्का प्रहार गरेका हुन् ।

पहिलो ट्वान्टी–२० मा वेष्ट इण्डिजले ४ विकेटको जित हासिल गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन जोडेको थियो । श्रीलंकाका लागि ओपनर निरोशन दिकवेल्लाले ३३ र तेस्रो नम्बरका पथुम निसांकाले ३९ रन बनाउनुबाहेक अन्यले उल्लेखनीय रन बनाउन सकेनन् । वेष्ट इण्डिजका ओवेड म्याकोइले २ विकेट लिए ।

जवाफमा वेष्ट इण्डिजले ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । ओपनर लेन्डी सिमोन्सले १५ बलमा २६ र इभिन लेविसले १० बलमा २८ रन जोडे पनि तेस्रो र चौथो नम्बरका ब्याट्सम्यान क्रमसः क्रिस गेल र निकोलास पूरन शून्यमै आउटभए ।

त्यसपछि आएका पोलार्डले ६ छक्कासहित ११ बलमा ३८ रनको पारी खेलेका हुन् । जेसन होल्डरले पनि अविजित २९ रनको संयमित पारी खेले ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *