संसद बैठकअघि नै वार्ता टुंग्याउने तयारी, बहसमा अन्तरिम सरकार ! – Nepal Press
सरकार-विप्लव सम्वाद

संसद बैठकअघि नै वार्ता टुंग्याउने तयारी, बहसमा अन्तरिम सरकार !

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच फागुन २३ को संसद अधिवेशन शुरु हुनुअघि नै शान्ति वार्ता टुंग्याउने गरी छलफल अघि बढेको छ । वार्ताबाट हुने सहमतिको मस्यौदा पहिले नै तयार भइसकेको छ, जसलाई दुवै पक्षले वार्ता टुंगो नलागी ‘लिक नगर्ने’ समझदारी गरेका छन् ।

जसरी वार्ता टोली गठन र वार्ता शुरुवात एकाएक गरियो त्यसैगरी सहमति पनि आश्चर्यजनक ढंगबाट सार्वजनिक गर्ने समझदारी बनेको वार्ता टोली सम्बद्ध स्रोतले जनाएको छ । स्रोतका अनुसार सकेसम्म प्रतिनिधिसभाको बैठक बस्नुअघि नै सरकार र विद्रोही पक्षबीच वार्ता सफल भएको घोषणा गरिनेछ ।

स्रोतले भन्यो–हामीले सबै तयारी र होसियारीसाथ कदम चालेका छौं । अहिले केही कुरा बाहिर नलाने सहमति छ तर पनि एक दुई दिनभित्रै हामी जनतालाई एउटा सकारात्मक समाचार दिन्छौं । हुनसक्छ संसद अधिवेशन अघि नै त्यो आउँछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता टोलीलाई संसद अधिवेशनमा जाँदाखेरि यो महत्वपूर्ण उपलब्धि पनि जनतालाई सुनाउने गरी वार्ता अघि बढाउन निर्देशन दिएको बताइन्छ । आफ्नै पार्टीबाट विभाजित पक्षले (विशेषतः प्रचण्ड)ले यो वार्ता नहोस् भन्ने चाहेको बेला दुवै पक्ष सहमति नजिक पुगिएकाले यसबाट मुलुकको राजनीतिले अर्को कोर्ष लिन सक्ने दावी एक मन्त्रीले गरे ।

उनले भने–यो वार्ता नहोस् भनेर भाँड्न प्रचण्डजीले धेरै सूत्र परिचालन गर्नुभएको थियो । त्यसैले हामीले सबै कुरा गोप्य ढंगले अघि बढायौं र अब सहमति पनि सकारात्मक दिशाबाटै हुन्छ भन्ने छ । विप्लवजीहरुले अन्तरिम सरकारको कुरा गर्नुभएको छ त्यसमा बाबुराम भट्टराईको संकेत राम्रो आइसक्यो,अब कांग्रेसलगायत अन्य दलसँग पनि छलफल गर्नुपर्ने हुन्छ ।

सिके राउतको पृथकतावादबाट मुलुकलाई मुक्त गरेजस्तै अब विप्लवको हिंसाबाट शान्तिपूर्ण राजनीतिमा ल्याउन मूलधारका शक्तिले ‘केही स्पेस’ दिनुपर्ने सरकारका ती मन्त्रीले बताए । त्यो स्पेस भनेको सबै राजनीतिक दल र शक्ति सम्मिलित अन्तरिम सरकार हुँदै निर्वाचनमा जाने हुनसक्ने उनको भनाइ छ ।

यी बाहेक विप्लव समूहका जेलमा रहेका नेता कार्यकर्ता छुटाउने, मुद्दा फिर्ता लिने र विप्लव समूहले हतियार बुझाउनु पर्ने जस्ता प्राविधिक विषयमा कुनै समस्या नरहेको वार्ता टोलीका सदस्यहरु बताउँछन् । अदालतमा मुद्दा चलिरहेकाको हकमा प्रक्रिया पुर्याउनुपर्ने भएकाले त्यसले केही समय लिनसक्छ ।

जघन्य अपराधको मुद्दा खेपिरहेकाको हकमा सरकारले मुद्दा फिर्ता लिन सक्दैन । त्यसबाहेक धेरै कुरा मिलिसकेको र एक दुई दिनभित्रै सकारात्मक परिणाम आउने बताइएको छ ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा (बादल)ले धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक रहेको र केही विषयमा छलफल जारी रहेकाले छिट्टै सुखद परिणाम आउने बताएका छन् ।

दुवै वार्ता टोलीबीच बुधबारै दुई चरणमा वार्ता भएको थियो । विप्लव वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउने दुवैजना विगतमा बादल समूहकै नेता रहेकाले पनि वार्तामा कुनै पनि असहजता नदेखिएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

One thought on “संसद बैठकअघि नै वार्ता टुंग्याउने तयारी, बहसमा अन्तरिम सरकार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर