घर बनाउँदै गर्दा रड चिरियो, तीन मुठा दिएर थुमथुम्याउने प्रयासमा कम्पनी – Nepal Press
लक्ष्मी स्टीलको लापरबाही

घर बनाउँदै गर्दा रड चिरियो, तीन मुठा दिएर थुमथुम्याउने प्रयासमा कम्पनी

काठमाडौं । घर बनाउने क्रममा रड चिरिएपछि चितवन भरतपुर-५ नारायणपुरका कृष्णराज विकलाई यतिखेर दोधारसँगै चिन्ता थपिएको छ । बचेखुचेको तलब र ऋणसमेत लाखौं खर्चेर बनाउन लागेको उनको घरको सपना रडसँगै चर्कियो । पिलर बुन्‍दै जाँदा रड चोइटिएको देखेपछि घर निर्माणलाई थाती राखेका छन् ।

विकले चितवनको भरतपुर महानगरपालिकाको दीपेन्द्र चोकस्थित उत्सव हार्डवेयरबाट माघ २६ गते लक्ष्मी स्टील प्रालिको रड किनेका थिए । पिलर बुन्न बंग्याउने क्रममा १६ एमएमको रड बांगिएपछि कामदार नै आश्चर्यमा परेको विक बताउँछन् । ठेकेदारले यसरी रड बिग्रिएको आफूलाई थाहा नभएको बताएपछि आफूले हार्डवेयर, लक्ष्मी स्टीलको भरतपुर डिलरदेखि तीनकुने कार्यालयसम्म चहारेको विकले बताए ।

विकले आफ्नो दु:ख नेपाल प्रेससँग यसरी पोखे

घर बनाउन डीपीसी गरिसकेको थिएँ । हात्तीपाइले गरेर पिलर बुन्न एल आकारमा बंग्याउँदा कामदारले चोइटिएको देखाए । बलियो घर बनाउन भनेर किनेको फलामको रड नै खराब देखिएपछि ठेकेदार, कामदार र छिमेकी सबै भेला भएर निकै कुरा चल्यो । रड किनेर ल्याएको उत्सव हार्डवेयरमा सम्पर्क गरेँ । चितवनको सेल्सम्यानलाई देखाइदियो । सेल्सम्यानलाई फोन गरेपछि रड कम्पनीका इन्जिनियरसहित केही मान्छे आए । कम्पनीमा आफूले कुरा गर्ने, क्षतिपूर्तिका लागि पहल गर्ने भन्दै उनीहरूले घर बनाउने काम नरोक्न भने । २/४ दिन पर्खिएँ केही भएन । त्यसपछि नम्बर खोजेर काठमाडौंको तीनकुनेमा रडकै कार्यालयका दिवाकर पाण्डे सरलाई फोन गर्दा केही केही रडमा त्यस्तो हुने भएकोले त्यो खासै ठूलो समस्या नभएको बताउनुभयो । उहाँले शुरूमा फिल्डबाट इन्जिनियरले पठाएको रिपोर्टको आधारमा क्षतिपूर्ति दिने भन्नुभयो पछि एउटा रड बिग्रिएर केही हुन्न भन्दै उल्टै थर्काउनुभो । कम्पनीका कर्मचारीले यो कुरा बाहिर नल्याइदिन भने । दुई दिनअघि मात्र अफिसमै गएर भेट्दा ३ मुठा रड दिने र १५ वर्षको लागि घरको बीमा गरिदिने भन्नुभाको छ । तर, रडजस्तो कुरा बाँसजसरी चोइटेको देख्दादेख्दै खै के गर्ने गर्ने !

कम्पनीको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति

लक्ष्मी स्टील औद्योगिक घराना सौरभ ग्रुपको उत्पादन हो । विकको गुनासोपछि हामीले कम्पनीका जिम्मेवार अधिकारीसँग सम्पर्क गर्‍यौं । रड चिरा परेकोबारे लक्ष्मी स्टील तीनकुने कार्यालयका दिवाकर पाण्डेले एक/दुई वटामा आउने समस्यालाई ‘जेनरलाइज’ गर्न नहुने बताए ।

‘पाँच/सात वटा सुन्तलामा कुनै एक/दुई वटा कुहिएको छ भन्दैमा सबै सुन्तला त त्यस्तो हुन्न नि’, आफूलाई मेकानिकल इन्जिनियर बताउने पाण्डेले भने, ‘त्यही पनि हामीले उहाँको माग समाधान गरिदिने भनेका छौं । के क्षतिपूर्ति भन्न खोज्नुभाको हो कृष्णभाइले पनि स्पष्ट भन्दिनुपर्‍यो । अफिसमा पठाइदिनुस् हामी चित्त बुझाएर पठाउँछौं ।’

कम्पनीको बिक्री विभाग प्रमुख राजन बस्नेत पानीको तापक्रम नमिल्दा कुनै-कुनै रडमा समस्या आउने बताउँछन् ।

‘कच्चा पदार्थ सबै भारतबाट आउँछ । तताउँदै पानी हाल्दै पिट्दै जाँदा बाहिरी भाग अलि कडा हुन्छ । कहिलेकाहीं त्यही कडा भाग परेको हो । एउटा रडमा सबैतिर त्यस्तो कमजोर हुन्छ भन्ने हुँदैन, बस्नेतले नेपाल प्रेससँग भने, ‘ फलाम फलामै हो । यो त्यत्ति ठूलो प्रोब्लेम होइन । तर उहाँको लागि यो ठूलो विषय हो । यो जानकारी आउनेबित्तिकै कम्पनी जिम्मेवार भएर लागेको छ । हामीले मान्छे पठाएका छौं । भोलि एकान दुईकान मैदान भयो भने गार्‍हो हुन्छ । उहाँलाई हामी चित्त बुझाउँछौं ।’


प्रतिक्रिया

2 thoughts on “घर बनाउँदै गर्दा रड चिरियो, तीन मुठा दिएर थुमथुम्याउने प्रयासमा कम्पनी

  1. मेरो पनि घर बन्दै छ । मैले पनि यही कम्पनी को प्रयोग गरेको छु । मलाई पनि पो चिन्तामा पार्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *