खुमलटार र लिग लिडर सातदोबाटोको अंक बराबरी – Nepal Press

खुमलटार र लिग लिडर सातदोबाटोको अंक बराबरी

काठमाडौं । सबिन केसीको दुई गोल प्रेरित खुमलटार युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बुधबार ब्वाइज युनियन क्लबलाई ३-० को नतिजामा पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १९औं मिनेटमा सबिनले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । पहिलो हाफको खेल सकिन दुई मिनेट बाँकी रहँदा सबिनले पुन: गोल गर्दै खुमलटारको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा २ गोलले पछि परेको ब्वाइज युनियन दोस्रो हाफमा पनि सम्हालिन सकेन । खेलको ७४औं मिनेटमा आयुस घलानले खुमलटारका लागि तेस्रो गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरे ।

जितसँगै खुमलटार ९ खेलबाट २२ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा छ भने ब्वाइज युनियन ९ खेलबाट १४ अंकसहित लिग तालिकाको चौथो स्थानमा छ । एक खेल कम खेलेकाे सातदोबाटो युथ क्लब २२ अंकसहित शीर्ष स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *