हेलिकप्टर सञ्चालकले भेटे उद्योगमन्त्री, सगरमाथा निकुञ्ज क्षेत्रमा उडान निषेधको विरोध – Nepal Press

हेलिकप्टर सञ्चालकले भेटे उद्योगमन्त्री, सगरमाथा निकुञ्ज क्षेत्रमा उडान निषेधको विरोध

काठमाडौं । वायु सेवा सञ्चालकले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको विरोधमा उद्योगमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् ।

बुधबार वायु सेवा सञ्चालकले सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडानलाई निषेध गरेको विरोधमा मन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएका हुन् ।

वायुसेवा संचालकले मन्त्री भट्टलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउदै संरक्षित क्षेत्रहरुमा पूर्ववत रुपमा प्रचलित व्यवस्थानुसार नै सम्पूर्ण प्रकृतिका हेलिकप्टर उडान निर्वाध रुपमा संचालन गर्ने व्यवस्था गरिदिन माग गरेका छन् ।

हेलिकप्टर निर्वाध रुपले चल्न नपाए आर्थिक अभाव भई सेवा नै बन्द हुने अवस्था आउने भन्दै वायु सेवा सञ्चालकहरुले उडान रोक्का फुकुवा गर्न आवश्यक पहलका लागि मन्त्री भट्टलाई आग्रह गरेका हुन् ।

वायु सेवा सञ्चालकका सचिव सुमन पाण्डेले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको निर्णयले हेलिकप्टर उद्योग धरासायी हुने बताए ।

यदि निकुञ्जले हेलिकप्टरलाई नियन्त्रण गर्न खोजे यो उद्योगमा मात्रै नभई पर्यटन क्षेत्रमा नै असर गर्ने सचिव पाण्डेले बताए ।

विदेशी बजारमा नेपाली पर्यटन क्षेत्रको विश्वसनीयताप्रति प्रश्न उठ्ने भन्दै हेलिकप्टरलाई निर्वाध रुपमा चल्न दिनुपर्ने उनीहरुको माग थियो ।

ज्ञापन पत्र बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय निकुञ्जलाई संरक्षण गर्दै उद्योगलाई पनि सञ्चालन गर्नुपर्ने बताए । ऐन, कानूनको पालना हुनेगरी सन्तुलित ढंगले अघि बढ्नुपर्ने भन्दै मन्त्री भट्टले सबैलाई बोलाएर व्यवस्थित ढंग्ले छलफल गरी समस्या सामधानका लागि दीर्घकालीन उपाय खोज्न पहल गर्नेे बताए ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जारी गरेको हेलिकप्टर अवतरण/होभारिंग नियमनको परिपत्रमा हेलि अवतरण नियमन वा सो क्षेत्रका लुक्ला, स्याङबोचे र नाम्चे स्थितका ३ स्थान वाहेक अन्य स्थानको उडान तथा अवतरण रोक्ने निर्णय गरेको थियो ।

यस निर्णयले हेलिकप्टर संचालक कम्पनीहरु तथा समग्र पर्यटन व्यवसाय मर्कामा परेको भन्दै पूर्ववत रुपमा अवतरण गर्नुपर्ने माग गर्दै आएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर