वान् एक्स बेटका नेपाली एजेन्टको खल्ती अकाउन्ट सस्पेन्ड, प्रहरीसँग सहायता लिने तयारीमा राष्ट्र बैंक – Nepal Press
सट्टेबाजी सिरिज-७ 

वान् एक्स बेटका नेपाली एजेन्टको खल्ती अकाउन्ट सस्पेन्ड, प्रहरीसँग सहायता लिने तयारीमा राष्ट्र बैंक

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले वान् एक्स बेटको अवैध सट्टेबाजी धन्दामा संलग्न नेपाली एजेन्टहरूको अकाउन्ट ‘सस्पेन्ड’गरेको छ ।

सन् २०१८ देखि नेपालमा अवैध रूपमा सट्टेबाजी धन्दासँगै इलेक्ट्रोनिक कारोबार, राजस्व छली र हुन्डी धन्दा चलाइरहेको वान् एक्स बेटले नेपालमा एजेन्ट बनाएर भुक्तानी कारोबार गरिरहेको थियो ।

केही समयअघि नेपाल प्रेसमा वान् एक्स बेटको अवैध धन्दाको पर्दाफास भएसँगै साइप्रस बेस्ड रुसी सट्टेबाजी कम्पनी वान् एक्स बेटले आफ्नो वेबसाइटलाई केही समयका लागि नेपालमा बन्द गराएको नाटक गरेको थियो । त्यसअघि उपलब्ध हुँदै आएका इ-सेवा, कनेक्ट आईपीएस, एनआइसी एसिया बैंक, खल्तीलगायतका प्लेटफर्महरू आफ्नो प्लेटफर्मबाट हटाएको थियो ।

तर, नेपाल प्रेसलाई प्राप्त जानकारी अनुसार वान् एक्स बेटले आफ्ना एजेन्टलाई विभिन्न माध्यमबाट काम गराइरहेको थियो । ‘वान् एक्स बेटले पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा च्यानल बनाएर नेटवर्किङ बिजनेसको स्टाइलमा कारोबार गराइरहेको थियो,’ स्रोतले नेपाल प्रेससँग भन्यो, ‘खल्तीले एजेन्टका अकाउन्ट ब्लक गरेपछि त्यो माध्यम पनि अवरुद्ध भएको छ ।’

खल्तीले रिमाक्समा वान् एक्स बेट लेखिएका ट्रान्जेक्सन र शंकास्पद ट्रान्जेक्सन हुने गरेका करिब ३०० देखि ५०० वटा अकाउन्ट सस्पेन्ड गरिएको जानकारी दिएको छ ।

‘हामीले रिमाक्समा शंकास्पद कुरा उल्लेख भएका र असामान्य तथा शंकास्पद ट्रान्जेक्सन भइरहेका ३०० देखि ५०० को हाराहारीमा अकाउन्टहरू सस्पेन्ड गरेका छौं,’ खल्तीका फाइनान्स हेड अरुण साहले भने, ‘राष्ट्र बैंकले व्यक्तिगत अकाउन्टमा रेस्ट्रिक्सन लगाएको छ । त्यसैले एजेन्टहरूले बिजनेस अकाउन्टसमेत प्रयोग गर्ने गरेको पाइएको छ ।’

सबै ट्रान्जेक्सको रिमाक्समा वान् एक्स बेटसँगै सम्बन्धित कुरा लेखेको नुहने भएकाले ट्रयाक गर्न पनि कठिनाइ हुने गरेको साहले नेपाल प्रेसलाई बताए । यद्यपि, शंकास्पद कारोबार हुनेबित्तिकै अकाउन्टलाई सस्पेन्ड गरेर नियामक निकाय राष्ट्र बैंकलाई जानकारी गराउँदै आएको उनले बताए ।

‘राष्ट्र बैङ्कलाई हामीले नियमित अपडेट गराइरहेका छौं । नेपाल सस्पेक्टेटेड अकाउन्ट ३ देखि ५ सय अकाउन्ट सस्पेन्ड गरेका छौं,’ साहले भने । गत भदौमा पनि शंकास्पद प्रयोगकर्ताको सूची राष्ट्र बैंकलाई बुझाइएको उनले बताएका छन् । तर, त्यसबारे राष्ट्र बैंकले खासै चासो नदिएको देखिएको छ । साहले पनि त्यस विषयमा राष्ट्र बैंकबाट केही फलोअप नआएको प्रतिक्रिया दिएका छन् ।

यसरी सस्पेन्ड गरिएका खल्ती अकाउन्ट सबै एजेन्टका नरहेको वान् एक्स बेट निकट स्रोतले नेपाल प्रेसलाई जानकारी दिएको छ । ‘नेपालमा त्यति धेरै एजेन्ट नै छैनन, धेरैमा १ सय ५० जना एजेन्ट होलान्,’ स्रोतले भन्यो, ‘एजेन्टको सँगै प्रयोगकर्ताको पनि खल्ती अकाउन्ट बन्द भएको हुन सक्छ ।’

यसरी दिनहुँ अवैध धन्दामा सघाउ पुर्‍याइरहेका एजेन्टहरूको एकैसाथ अकाउन्ट सस्पेन्ड हुनाले डिपोजिट र विथ्ड्रमा समस्या देखिएकाले वान् एक्स बेट कम्पनीमा पनि खैलाबैला मच्चिएको बताइएको छ ।

नेपाल राष्ट्र बैंकले पनि खल्तीले आफ्नो प्लेटफर्मको प्रयोग गरेर भइरहेका शंकास्पद ट्रान्जेक्सनको विवरण बुझाएको र त्यसमाथि अध्ययन शुरू भएको पुष्टि गरेको छ ।

‘अनलाइन बेटिङ/ग्याम्ब्लिङका लागि प्रयोग भइरहेका र शंकास्पद ट्रान्जेक्सन देखिएका अकाउन्टहरूको रिपोर्ट खल्तीले बुझाएको छ’ नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले भने, ‘यसबारेका अनुसन्धानका लागि अहिले अध्ययन र छलफल भइरहेको छ । यो विषयको अनुसन्धान चाँडै शुरू हुने र आवश्यक परे प्रहरीको पनि सहयोग लिन सकिनेछ ।’

केही समयअघि सम्म खुलेआम डिजिटल वालेटबाट भुक्तानी र सेलेब्रिटीलाई प्रचारको माध्यम बनाएको वान् एक्स बेटले पछिल्लो समय इ-मेल तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसारलाई गति दिएको थियो । नेपालमा रहेका यसका एजेन्टहरूले प्रयोगकर्ताबाट जम्मा भएको रकमको केही प्रतिशत पैसा कमिसन लिएर हुन्डीमार्फत पठाउने गरेका थिए ।

यसरी कारोबार गर्दा एजेन्टले कुल कारोबारको ७ देखि ११ प्रतिशतसम्म कमिसन हात पार्दै आएका छन् । नेपालबाट वान् एक्स बेटमा मात्रै दैनिक लाखौं रूपैयाँ बाहिरिरहेको सहजै अनुमान लगाउन सकिन्छ । किनभने, एक एजेन्टले प्रतिदिन कमिसनबाट मात्रै ५ देखि ५० हजारभन्दा धेरैसम्म कमाउने गरेको स्रोतले जानकारी दिएको छ ।

कम्पनीले अझै नेपाली युवालाई एजेन्ट बन्‍नका लागि प्रस्ताव गरिरहेको छ । फेसबुक, ह्वाट्सएप, भाइबरलगायतका सामाजिक सञ्‍जालको सहायता लिएर कम्पनीले सो प्रस्ताव गरेको हो ।

याे पनि पढ्नुहाेस्

सट्टेबाजी सिरिज–१ 

युट्युब सेलिब्रिटी नै गर्दैछन् अवैध सट्टेबाजी धन्दाको विज्ञापन

सट्टेबाजी सिरिज–२

नेपाली युवालक्षित अवैध जालो बुन्दै ‘वान् एक्स बेट’

सट्टेबाजी सिरिज-३

वान एक्स बेटको हुण्डी धन्दामा सयौं नेपाली एजेण्ट, यस्तो छ जालो

सट्टेबाजी सिरिज-४

वान् एक्स बेटको सट्टेबाजीमा कुन बैंक र डिजिटल वालेटको साथ ?

सट्टेबाजी सिरिज-५ 

नेपाल प्रेस समाचार प्रभाव: वान एक्स बेटले हटायो पेमेन्ट प्लेटफर्म, युट्युबरले हटाए विज्ञापन

सट्टेबाजी सिरिज-६

वान् एक्स बेटको जालमा कसरी परे बल्छी धुर्वे ? सरकार भन्छ– कारवाही गर्छौं


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर