पुन:स्थापनाको माग गर्दै गृहमन्त्रीसमक्ष ताप्लेजुङ अग्नीपिडितको ज्ञापन पत्र – Nepal Press

पुन:स्थापनाको माग गर्दै गृहमन्त्रीसमक्ष ताप्लेजुङ अग्नीपिडितको ज्ञापन पत्र

काठमाडौं । ताप्लेजुङ दोभान बजारका अग्नीपीडितलाई दिर्घकालीन पुनःस्थापनाको लागि भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समक्ष ज्ञापन पत्र बुझाइएको छ ।

ताप्लेजुङको मिरिङदेन गाउँपालिका- ३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेर ध्वस्त भएको थियो । डेरावालसहित ७९ परिवार विस्थापित भएका छन् । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्नीपीडित राहत तथा सहयोग समिति गठन गरी सहयोगको माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।

आगलागीका कारण आवासविहीन भएकाहरूलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगको बजारहरूमा आगलागीबाट हुने जोखिम र क्षति न्यूनिकरण गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन तथा व्यवस्थित शहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको सांसद भट्टराईले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले ताप्लेजुङका अग्नीपीडितका लागि राहत र उद्दारको काम शुरू भइसकेको बताए । सोमबार नै टेन्ट, ब्ल्यांकेट पठाइएको र मंगलबार खाद्यान्नलगायतका अन्य सामाग्री पठाइने उनले जानकारी दिए । आवासको निम्ति भुकम्पपीडित सरहको मापदण्डको आधारमा आवश्यक रकम उपलब्ध गराउने उनले आश्वासन दिए ।

तत्कालीन राहतको रुपमा गृहमन्त्रालयले प्रति परिवार १५ हजार रुपैँयाको दरले पठाइसकिएको जानकारी दिँदै मन्त्री थापाले कार्यविधि सच्याएर अग्नीपीडितको आवास निर्माणको लागि पाँच लाख रुपैया उपलब्ध गराउने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर