नेपालको नयाँ नक्साबारे भारतीय मिडियामा डा. भट्टराईको असन्तुष्टि (भिडियो) – Nepal Press

नेपालको नयाँ नक्साबारे भारतीय मिडियामा डा. भट्टराईको असन्तुष्टि (भिडियो)

काठमाडौं । भारतले हडपेका भूभागहरु समावेश गर्दै नेपालले नयाँ नक्सा प्रकाशित गरेको विषयलाई लिएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिलोपटक असन्तुष्टि जनाएका छन् । उनको असन्तुष्टि भारतीय मिडियासँगको कुराकानीमा व्यक्त भएको हो ।

डा. भट्टराई हालै आफ्नो स्वास्थ्य उपचारका सिलसिलामा नयाँदिल्ली पुगेका थिए । त्यहाँ बसाइका क्रममा उनले इन्डिया टुडेलाई हिन्दीमा दिएको अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा आलोचनाको विषय बनिरहेको छ । अन्तर्वार्ताकारले नेपालमा नयाँ नक्सा सार्वजनिक गरिएको विषयलाई लिएर प्रश्न गरेकी थिइन् ।

उनले प्रश्न यस्तो थियो, ‘हालै नेपालमा नक्साको विवाद भयो, तपाईंलाई के लाग्छ ओलीले संसदबाट नक्सा पास गर्न हतार गरे ? के उनले प्रतीक्षा गर्नुपर्थ्याे र भारतसित कुराकानी गर्नुपर्थ्याे कि राष्ट्रवादको झण्डा फहराउनुपर्थ्याे ?

यसमा डा. भट्टराईले अनपेक्षित जवाफ दिए । नयाँ नक्साको बचाउ गर्नुको सट्टा उनले यसलाई नेपालको आन्तरिक राजनीतिको उपजका रुपमा व्याख्या गरे । देशभित्रको आन्तरिक संकट समाधान गर्न नसकेपछि राष्ट्रियताको विषय ल्याइएको उनको टिप्पणी छ ।

डा. भट्टराईको जवाफ जस्ताको तस्तैः

‘दक्षिण एसियाका धेरै देशहरूमा यस्तो हुन्छ । जब आन्तरिक संकट उत्पन्न हुन्छ, त्यसलाई समाधान गर्न नसकेपछि शासकले राष्ट्रियताको विषय अगाडि ल्याउँछन् र मानिसहरूको ध्यान मोड्छन् । नेपालमा पनि यस्तै भयो । जुन सीमा समस्याको कुरा छ, त्यो त अंग्रेजको जमानादेखि नै थियो । त्यसलाई समाधान गर्नका लगि राजनीतिक संयन्त्र बनाइएको थियो, त्यसलाई क्रियाशील गर्दै समाधान गर्नुपर्ने थियो । गल्ती त दुवैतर्फबाट भएको छ । तर, पनि सानो देश भएकाले ज्यादा नोक्सान नेपाललाई भइरहेको छ । इन्डिया नेपालको सबैभन्दा ठूलो आर्थिक साझेदार हो । हाम्रो आर्थिक सामाजिक सम्बन्ध छ । उसित सम्बन्ध बिग्रिँदा नेपाली जनताले धेरै नोक्सानी व्यहोर्नुपर्छ । हामी चाहन्छौं, यस्ता संवेदनशील कुराहरुलाई वार्ताकै माध्यमबाट समाधान गरिनुपर्छ ।’

स्मरणीय के छ भने नयाँ नक्सासहितको निशान छाप नेपालको संसदबाट पारित गर्न संविधान संशाेधन हुँदा डा. भट्टराईले पनि समर्थन जनाएका थिए । यति मात्रै होइन, उक्त संशोधनको विपक्षमा बोल्ने र फरक प्रस्ताव गर्ने सांसद सरिता गिरीलाई उनको पार्टीले पार्टी सदस्य र सांसदसमेत नरहने गरी कारबाही गरेको थियो । त्यतिबेला डा. भट्टराईले कुनै असन्तुष्टि व्यक्त गरेका थिएनन् । तर, भारत पुगेर त्यहाँको मिडियासँग नयाँ नक्साप्रति असन्तुष्टि जनाउनु अर्थपूर्ण मानिएको छ ।

भट्टराईले भारत बसाइमा आफूले व्यक्तिगत सम्बन्ध रहेका साथीभाइहरुसँग अनौपचारिक संवाद गरेको अन्तरवार्तामा बताए । औपचारिक कुराकानी भने कसैसँग नगरेको उनको भनाइ छ ।

नेपाल फर्किएलगत्तै डा. भट्टराईले चाँडै चुनावी सरकार निर्माण हुनुपर्ने वकालत गरेका छन् । उनले ट्वीटरमार्फत राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्न आह्वान गरेका हुन् । उनले संविधान संशोधन गर्नुपर्नेलगायत विभिन्न मागहरु पनि अघि सारेका छन् ।

 


प्रतिक्रिया

One thought on “नेपालको नयाँ नक्साबारे भारतीय मिडियामा डा. भट्टराईको असन्तुष्टि (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *