गुरुङ फिल्मलाई हलमा चलाउन मुस्किल, पुनः च्यारिटीकै भर ! – Nepal Press

गुरुङ फिल्मलाई हलमा चलाउन मुस्किल, पुनः च्यारिटीकै भर !

पोखरा। हलमा नेपाली फिल्ममात्रै चल्ने तर, गैर नेपाली भाषी फिल्म सधैं च्यारिटीकै भर पर्नु परेको भन्दै गुरुङ फिल्म एसोसियसन (जिफान)ले माघदेखि गुरुङ भाषाका फिल्म नियमित रुपमा हलमा चलाउने घोषणा गर्‍यो ।

सभागृहस्थित मिडटाउन ग्यालेरियामा माघ २३ गतेदेखि असार ५ गतेसम्म गुरुङ भाषाका विभिन्न फिल्म प्रदर्शन गर्ने एसोसियसन अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिएका थिए । त्यसअनुरुप दिउँसो १२ र २ बजेको समय तालिकासमेत सार्वजनिक भइसकेको थियो ।

एसोसियसनले योजनाअनुरुप केही फिल्महरु पनि चलायो । तर, अपेक्षाबमोजिम दर्शकहरु आइदिएनन् । दर्शक अभावकै कारण फिल्म निर्माताको लगानीसमेत डुब्ने खतरा बढ्यो ।

हलमा नियमित गुरुङ फिल्म सञ्चालन गर्ने घोषणा गरेको एक महिना नबित्दै जिफान पुनः च्यारिटी प्रदर्शनमै फर्किएको छ । हलमा नियमित फिल्म प्रदर्शन गर्दा दर्शक पनि नआउने र लगानीसमेत जोखिममा परेपछि फेरि पुरानै अवस्थामा फर्किनु परेको जिफान गण्डकी अध्यक्ष अध्यक्ष माओत्से गुरुङ बताउँछन् ।

‘हलमा अपेक्षित दर्शक आइदिएनन् । त्यसमाथि हामीले कोरोना महामारी नसकिँदै गुरुङ भाषाको फिल्म नियमित सञ्चालन गर्ने जमर्को गरेका थियौं,’ गुरुङ भन्छन्, ‘कोरोना महामारीपछि हलमा लागेका नेपाली फिल्मलेसमेत खुसी दिन नसकेको स्थिति छ ।’

नेपाली फिल्ममा नेपाली भाषाको फिल्मपछि सबैभन्दा बढी लगानी गुरुङ फिल्ममा हुन्छ । तर, पर्याप्त दर्शकको साथ नपाउँदै च्यारिटी सोमै सीमित हुनुपरेको गुरुङ बताउँछन् । ‘गुरुङ फिल्मलाई गुरुङ समुदायले नै वेवास्ता गरे गुरुङ चलचित्रको पत्ता साफ हुनेछ,’ उनले चेतावनी दिए ।

हलमा चलाउँदा महँगो भाडा तिर्नुपर्ने तर, सोही अनुसार दर्शकको अभाव हुने माओत्से सुनाउँछन् । ‘हलमा २–३ सय जनाका लागि महङ्गो भाडा रकम तिर्नुपर्छ तर पार्टी प्यालेस च्यारिटी सो गरे सजिलो पनि हुन्छ । लगानी पनि उठ्छ,’ उनले भने ।

हलमा नियमित चल्न नसकेपछि गुरुङ फिल्म ‘शिरसुवा’ फागुन २२ मा विशेष च्यारिटी शो गरिने भएको छ । माओत्से गुरुङद्वारा निर्देशित ‘शिरसुवा’ फिल्म च्यारिटी प्रदर्शन गर्ने निर्माण पक्षले पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

ब्रेज मेस्रो प्रोडक्सन घान्द्रुकको ब्यानरमा बनेको फिल्ममा करिब ३५ लाख रुपैयाँ लगानी छ । विश्वास गुरुङले फिल्ममा मुख्य अभिनेताको चरित्र चित्रण गरेका छन् । मुख्य कलाकारमा सुमन गुरुङ र प्रीति गुरुङ छन् ।

अभिनेत्री प्रिती गुरुङले फिल्म आकर्षक रहेको बताइन् । ‘शिरसुवामा निकै मिहेनत गरेकी छु । फिल्ममा गाउँ तथा गुरुङ संस्कृतिलाई विशेष तरिकाले प्रस्तुत गरिएको छ,’ उनले भनिन् । यसअघि शिरसुवा घान्द्रुक र काठमाडौंमा विशेष प्रदर्शन भइसकेको छ । ८० प्रतिशत गुरुङ भाषा समेटिएको फिल्मको निर्माता तथा कथाकार विमल गुरुङ हुन् ।


प्रतिक्रिया

One thought on “गुरुङ फिल्मलाई हलमा चलाउन मुस्किल, पुनः च्यारिटीकै भर !

  1. काम छैन फिलिम हेरियो अभिनय नै राम्रो लागेन मलाई खिचाई पनि झुर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *