२ अर्बको भौतिक योजना सबै लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्रीको गृहजिल्लामा – Nepal Press

२ अर्बको भौतिक योजना सबै लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्रीको गृहजिल्लामा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको पश्चिम– नवलपरासीमा चालु आर्थिक वर्षमा करीब २ अर्ब बराबरको भौतिक पूर्वाधारका योजना परेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको गृहजिल्ला नवलपरासीमा ती सबै योजना परेका हुन् । दुई जिल्ला छुट्टिएर बनेको यो जिल्लामा सबैभन्दा बढी पुल निर्माणमा खर्च गरिएको छ ।

जिल्लामा धेरै साना खोलाहरु भएका कारण पनि धेरै पुल निर्माणमा खर्च भएको स्थानीयको भनाइ छ । तीन नगरपालिका र ४ गाउँपालिकासहित सात वटा स्थानीय सरकार रहेको यो जिल्लामा भौतिक पूर्वाधार विकास मन्त्री चौधरीका कारण यी योजनाले प्राथमिकता पाएको स्थानीयको भनाइ छ ।

प्राथमिकतामा परेका पुलहरु हुलाकी सडक र घण्टौं लगाएर एक गाउँबाट अर्को गाउँमा जाने स्थानमा छन् । पुल निर्माणपछि स्थानीयहरुले वर्षौदेखि भौग्दै आएको आवतजावतको समस्या समाधान भएको रामग्राम नगरपालिका वडा नं. १५ का अध्यक्ष धनपत यादवले बताए ।

यसवर्ष सडक सञ्जाल र पुल निर्माण अन्तरगत भइरहेका कामहरु केही सम्पन्न भइसकेका छन् । भने केही निर्माणका चरणमा छन् ।

मन्त्री चौधरीले नवलपरासी जिल्लामा हरेक वर्ष करीब २ अर्ब बराबरका भौतिक पूर्वाधारका योजनाहरु प्रदेश सरकारबाट छुट्टिने गरेको बताए ।
यो हप्तामात्र मन्त्री चौधरीले २ वटा पुलको शिलन्यास गरेका छन् भने अन्य २ वटा पुलको उद्घाटन गरेका छन् । ती चार वटा पुलको लागत २५ करोडको छ ।

शिलन्यास र उद्घाटन गरिएका पुल रामग्राम, सुनवल बर्दघाट नगरपालिका क्षेत्रमा छन् । शिलन्यास गरेका पुल २ वर्षभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

जिल्लामा बर्दघाट, रामग्राम र सुनवल नगरपालिका तथा सुस्ता, पाल्हीनन्द, सरावल र प्रतापपुर गरी ७ वटा स्थानीय सरकार रहेका छन् ।
जिल्ला समन्वय समितिका सभापति शिवशंकर रायले जिल्लामा बजेट आएको र विकासका काममा खर्च गरेपनि प्रदेश सरकारले समन्वय समितिसँग सहकार्य नगरेको गुनासो गरे ।

‘विकासका मामलामा राजनीति गर्नुहुँदैन, प्रदेश सरकारले ध्यान दिनुपर्दछ, कानूनले समन्वय समितिलाई योजना अनुगमनको जिम्मेवारी दिएको छ तर धेरै विषय हामीलाई जानकारी दिइएको छैन’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर