वैदेशिक रोजगारीको अँध्यारो पाटो- सम्बन्धविच्छेद बढ्दै, सामाजिक विचलनको खतरा – Nepal Press

वैदेशिक रोजगारीको अँध्यारो पाटो- सम्बन्धविच्छेद बढ्दै, सामाजिक विचलनको खतरा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११ का एक युवा ४ वर्षअघि वैदेशिक रोजगारका लागि खाडी गए । विदेश जाने बेलामा श्रीमतीलाई बैतडीबाट सुर्खेलस्थित मध्यपश्चिम विश्वविद्यालयमा भर्ना गरे । चार वर्षसम्म कमाएको सबै पैसा श्रीमतीलाई पठाए । दुई मिलेर राजधानी शहरमा घरेडी किने, घर बनाए । श्रीमतीको नाममा घर बन्यो ।

खाडीमा पसिना बगाएर बनाएको घरमा उनी बस्न पाएनन् । चार वर्षपछि फर्कँदा उनीसँग न श्रीमती रहिन् न घर । आफूले कमाएको सम्पत्ती माग्दा श्रीमतीले दिइनन् । तीनतले घर बनाउँदा लागेको १० लाख ऋण अझै तिर्न बाँकी छ । श्रीमतीबाट धोका पाएका ती युवा अहिले अदालती चक्करमा छन् । उनले सुर्खेत जिल्ला अदालतमा अंश मुद्धासहित सम्बन्धविच्छेदका दिवेदन दिएका छन् ।

‘अहिले श्रीमतीका कारण मेरो मेहनत, सम्पती स्वाहा हुने दिन आयो । जीवनभरि साथ पाउने आशामा विदेशमा बगाएको रगत र पसिना श्रीमतीले एकै पटकमा समाप्त पारिदिइन । अहिले सम्पती माग्दा दिन्न भन्छिन्,’ जिल्ला अदालत प्रांगणमा निराश मुद्रामा भेटिएका उनले नेपालप्रेससँगको कुराकानीमा गुनासो गरे ।

जिल्ला अदालत सुर्खेतमा अहिले श्रीमतीबाट अंश मागदाबी सहित सम्वन्ध विच्छेदका मुद्दा दिनेहरुको संख्या धेरै छ । चालु आर्थिक वर्षको फागुन १८ गतेसम्म सम्वन्ध विच्छेदका लागि ७० जना पुरुषले जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । ती मध्ये अधिकांश वैदेशिक रोजगारीबाट फर्किएकाहरु छन् ।

जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार यामप्रकाश बास्कोटका अनुसार साउनमा ५, भदौमा ६, असोजमा ६, कार्तिकमा ८, मंसिरमा १०, पुसमा २०, माघमा ८ र फागुन १८ गतेसम्ममा ७ जना पुरुषले सम्वन्ध विच्छेदका लागि मुद्दा दिएका छन् ।

जिल्ला अदालत सुर्खेतमा सम्वन्ध विच्छेद गरिपाउँ भनेर मुद्दा दर्ता गर्ने महिलाको पनि संख्या कम छैन । साउन यताको मात्रै विवरण हेर्ने हो भने फागुन १८ गतेसम्म २ सय ११ जना महिलालले सम्वन्ध विच्छेदका लागि निवेदन दिइसकेका छन् । स्रेस्तेदार वास्कोटका अनुसार साउनमा ३७ जना, भदौमा १४ जना, असोजमा १९ जना, कार्तिकमा २६ जना, मंसिरमा ३८ जना, पुसमा २३ जना, माघमा २३ जना र फागुन १८ सम्म ३१ जना महिलाले सम्वन्ध विच्छेदको मुद्दा अदालतमा दायर गरेका छन् ।

अदालतमा हरेक महिना बहुविवाहका मुद्दा पनि दर्ता भइरहेका छन् । चालू आर्थिक वर्षमा १६ वटा बहुविवाहका मुद्दा दर्ता भएका छन् । जिल्ला अदालतमा ६ वटा बालविवाहका मुद्दा दर्ता भएका छन् ।

‘बढदो वैदेशिक रोजगारी र मानिसका चहना र सपना बढिरहेका कारण सम्वन्ध विच्छेदका घटना बढेका हुन जस्तो लाग्छ,’ अधिवक्ता नन्द भण्डारी भन्छन्, ‘पछिल्लो समयमा आर्थिक रुपले नै हरेक परिवारमा समस्या ल्याएको पाइन्छ । नेपालमै रोजगारी नहुने, युवाहरु वा युवतिहरु विदेश जाने र त्यहाँबाट फर्केपछि उनीहरुको मनोवृत्ति बदलिने रहेछ । सोही कारण सम्वन्ध विच्छेद बढेको जस्तो मलाई लाग्छ ।’

उनले बढदो सम्वन्ध विच्छेदले समुदायलाई नै हानी गरिरहेको बताए । ‘सम्वन्ध विच्छेदसँग उनीहरुको परिवार छुट्टिने हो । उनीहरुका बालबच्चाहरु भएको खण्डमा बालबालिकाको भविष्य नै अन्धकार बन्ने खतरा बढदै गएको छ,’ उनले थपे, ‘यसलाई रोक्न राज्यले एक अभियान नै सञ्चालन गर्नुपर्ने देखिएको छ । नभए भविश्यमा गम्भीर सामाजिक विचलनको खतरा मैले देखेको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर