रोनाल्डोको ६ सयौं क्लब खेल, लगातार १२ सिजन २० भन्दा बढी गोल


एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोको करिअरमा अर्को कोशेढुंगा पूरा गरेका छन् । सिरी ए अन्तर्गत युभेन्टसले सजिलै जितेको स्पेइजाबिरुद्धको खेलमा रोनाल्डोले क्लब करिअरमा ६ सयौं खेल पूरा गरे ।
त्यही खेलको अन्तिम मिनेटमा गोल गरेपछि उनले सिरी ए मा युभेन्टसका लागि यो सिजन बीसौं गोल गरे । पछिल्लो १२ सिजनयता उनले हरेक सिजन २० भन्दा बढी गोल गरेका छन् । युरोपको शीर्ष पाँच लिगहरुमा यस्तो कीर्तिमान राख्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन् ।
युभेन्टसका लागि तीनै गोल दोस्रो हाफमा निस्किएको थियो । रोनाल्डोले तेस्रो गोल गरेका थिए । खेल सकिन एक मिनेट बाँकी हुँदा उनले तीव्र काउन्टर एट्याकमा गोल गरेका हुन् ।
६२ औं मिनेटमा अल्भारो मोराटाले फेडेरिको बेनार्डेचीको क्रसमा गोल गरेपछि युभेन्टसले अग्रता बनाएको थियो । ७१ औं मिनेटमा फेडेरिको सिसेले दोस्रो गोल गरेका थिए ।
यो जितले युभेन्टस तेस्रो स्थानमा तीन अंकको दूरीमा पुगेको छ । समान २४ खेलबाट युभेन्टस दोस्रो स्थानको एसी मिलानभन्दा ३ र शीर्ष स्थानको इन्टर मिलानभन्दा ७ अंकले पछाडि छ ।