प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न राजनीतिक दलका नेतासँग छलफल गर्छौं : सभामुख – Nepal Press

प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न राजनीतिक दलका नेतासँग छलफल गर्छौं : सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्ने बारे राजनीतिक दलका नेताहरुसँग परामर्श गर्ने बताएका छन् ।

मंगलबार संघीय संसद भवन नयाँबानेश्वरस्थित संसद बैठककक्षको अवलोकन पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भोलि बुधबारदेखि नै दलका नेताहरुसँग छलफल शुरु गर्ने बताएका हुन् ।

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पारे । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते बस्ने प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ ।

सत्तारुढ दलभित्र देखिएको आन्तरिक किचलोका कारण बैठक सञ्चालन कुन ढंगले अघि बढ्ने हो भन्ने सर्वत्र चासो भइरहेका बेला सभामुख सापकोटाले बैठकका एजेण्डा बारे दलहरुसँग छलफल गर्ने बताए । उनले बैठक सञ्चालनको तयारी चुस्तदुरुस्त भएको पनि बताए ।

उनले भने, ‘स्वभाविक लयमै अधिवेशन चलाउनुपर्छ भन्ने ढंगले हामी तयारी गर्दैछौं । अहिले महासचिवदेखि सचिवालयका सचिवहरु, सबै कर्मचारीहरु पनि बडो उत्साहका रुपमा खटिराख्नुभएको छ । किनभने केही समय अवरुद्ध हुँदा कताकता खल्लो खल्लो भएको थियो अहिले सबै उत्साहित हुनुुहुन्छ । संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सबै पक्षसँग, पार्टीका नेताहरुसँग, कार्यव्यवस्था परामर्श समिति पनि छ, सबैसँग विचार, विमर्श,परामर्श गर्दैछु भोलिदेखि तालिकाबद्ध रुपमा ।’

संसदको सातौं अधिवेशन फागुन २३ गते अपरान्ह ४ बजेको लागि आव्हान भएको छ । बैठकको लागि संघीय संसद सचिवालयले सरसफाइ, व्यवस्थापनलगायत तयारीका काम गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर