मिसिलमा फोटो फरक पर्नु ‘मानवीय त्रुटि’, घरबेटी एक लाख धरौटीमा छुटे – Nepal Press
उर्लाबारी प्रकरण

मिसिलमा फोटो फरक पर्नु ‘मानवीय त्रुटि’, घरबेटी एक लाख धरौटीमा छुटे

विराटनगर । मोरङको उर्लाबारी-५ का प्रवीण बास्तोला शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले तयार गरेको मिसिलमा मानवीय त्रुटिका कारण ‘फरक व्यक्तिको फोटो परेको’ निष्कर्ष निकालेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राई नेतृत्वको समितिले तयार पारेको अनुसन्धान प्रतिवेदनको मिसिलमा ‘फरक व्यक्तिको फोटो परेको’ निष्कर्ष निकालेको हो ।

समितिले फोटो फरक पर्नुलाई ‘मानवीय त्रुटि’ भएको औंल्याएकोे छ । पुस ५ मा अनुसन्धान शुरू गर्दा प्रहरीले बास्तोलाको फोटो खिचेको थियो । उर्लाबारीमा त्यहीबेला करेन्ट लागेर अर्को व्यक्तिको पनि मृत्यु भएकाले फोटो फरक भएको समितिको निष्कर्ष छ ।

समितिले सात दिन लगाएर बास्तोलाको हत्या प्रकरणको अनुसन्धान गरी तयार पारेको प्रतिवेदन सोमबार जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार फोटो प्रिन्ट गरेर अन्तिम समयमा मिसिलमा राख्ने बेलामा एउटा चाहिं फरक व्यक्तिको फोटो परेको पाइएको बताए ।

उनले दुईवटा पेजमा बास्तोलाको र एउटा फोटोचाहिं करेन्ट लागेको मान्छे परेकाले त्यो मानवीय त्रुटि भएको प्रतिवेदनमा औंल्याइएको बताए ।
उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले घटनाको अनुसन्धान गरेका थिए । शुरु अनुसन्धानमा अन्य त्रुटि नदेखिएको दाबी गर्दै एसपी खड्काले भने, ‘काम गर्दा मानवीय त्रुटि हुन्छ, अनुसन्धानमा संलग्न अधिकृतले तत्काल गलत फोटो हटाएर मिसिल पेश गरेको देखिन्छ ।’
मृतकका आफन्तले प्रहरीको अनुसन्धानप्रति आशंका गर्दै प्रश्न उठाएपछि छानबिन समिति गठन गरिएको थियो ।

पुस ४ साथीको डेरामा सुतेका प्रवीणको राति हत्या भएको थियो । भोलिपल्ट अस्पताल लगेपछि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । पोष्टमाेर्टमबाट ‘निसास्सिएर मृत्यु’ भएको रिपोर्ट आएको छ । भिसेरा परीक्षण गर्दा विष खुवाएको पुष्टि भएको छैन । पीडितकी बहिनी सदीक्षा बास्तोलाले प्रहरीले तयार गरेको मिसिलमा फरक व्यक्तिको फोटो राखेको सार्वजनिक गरेकी थिइन् ।

घरबेटी एक लाख धरौटीमा छुटे

प्रवीण बास्तोलाको हत्या प्रकरणमा पक्राउ परेका घरबेटी उर्लाबारीका रमेश गिरी १ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । मोरङ अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले सोमबार गिरीलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

अदालतले तोकेको धरौटी रकम बुझाएर गिरी रिहा भएको मोरङ अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

गिरीलाई मोरङ प्रहरीले आइतबार पक्राउ गरेको थियो । पक्राउ परेका गिरीलाई सोमबार अदालत उपस्थित गराएको थियो । सोही दिन भएको बयान र त्यसपछिको थुनछेक बहसपछि आदेश आएको हो ।

प्रवीणको हत्या भएको भनिएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा उनी सुतेका थिए । पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रवीण बिहान अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । स्थानीय गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृत्यु भएको दिन प्रवीण आफ्ना साथी सुदिप परियार, मेहरमान दर्जी र दिलीप पौडेलको डेरामा सुतेका थिए । त्यहाँ ३१ वर्षीय राजेश रणपहेली पनि सँगै थिए ।

प्रवीण बास्तोलाको हत्या आरोपमा पक्राउ परेका दुई जना मध्ये एक जनालाई मोरङ अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो भने होटल संचालक कुमार राईलाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न मोरङ अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आदेश दिएको हो ।

हत्यामा संलग्नमध्ये तीन जना फरार छन् । सरकारी वकिलको कार्यालयले गत मंगलबार पक्राउ परेका दुई र त्यसबाहेक चार जनालाई फरार प्रतिवादी बनाएर मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर