वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति ९ वर्षपछि पक्राउ – Nepal Press

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति ९ वर्षपछि पक्राउ

काठमाडाै‌ । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक व्यक्ति ९ वर्षपछि पक्राउ परेका छन् । नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १३ का ४८ वर्षका गुरुदत्त पौडेललाई प्रहरीले आइतबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको हो । पक्राउ परेका पौडल विरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणले २०६८ माघ १७ गते १ बर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएको थियो ।

रिलायवल एचआर सोलुसन प्रालिका संचालक रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले काठमाडौंको बागबजारमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई पक्राउ गरेलगत्तै ब्यूरोले फैसला कार्यान्वयनको लागि सोमबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यूरोका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन् ।

साथै, सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाई, झुक्यानमा पारी पिडीत जाहेरवालासंग ४ लाख पचास हजार लिई दुबई पठाई ठगी गरेको वैदेशिक रोजगार सम्बन्धि कसूरमा वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट प्रतिवादी पौडेललाई वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४ को उपदफा ५ बमोजिम १ बर्ष ६ महिना कैद सजाय र २५ हजार जरिवाना तिराइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर