विप्लवलाई प्रधानमन्त्रीको आग्रह – शान्तिपूर्ण मूलधारको बाटोमा आउनुस्, जनताले जयजयकार गर्छन् – Nepal Press

विप्लवलाई प्रधानमन्त्रीको आग्रह – शान्तिपूर्ण मूलधारको बाटोमा आउनुस्, जनताले जयजयकार गर्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई शान्तिपूर्ण मूलधारको बाटोमा आउन आह्वान गरेका छन् ।

सोमबार गण्डकी प्रदेशस्तरीय पार्टीको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण मूलधारको बाटोमा आए विप्लवलाई जनताले जयजयकार गर्ने समेत टिप्पणी गरे।

‘विप्लवलाई पनि भन्न चाहन्छु, उहाँहरू हिंडिरहेको बाटो काम लाग्दैन’ प्रधानमन्त्रीको आह्वान छ, ‘त्यो बाटो उचित छैन । यसबाटोमा आउनुहोस् । शान्तिपूर्ण मूलधारको बाटोमा आउनुहोस् तपाईंहरूलाई जनताले जयजयकार गर्छन् । त्यो गलत बाटोमा किन लाग्नुहुन्छ ?’

विप्लवसँग सरकारले वार्ता गर्ने तयारी भइरहेको चर्चा चलिरहेका बेला ओलीले देशलाई समृद्ध बनाउने बाटोमा लाग्न पनि विप्लवलाई आग्रह गरे । उनको आग्रह छ, ‘सुतली बम पड्काएर किन बस्नुहुन्छ ? देश विकासमा लाग्नुहोस् न । देशलाई समृद्ध बनाउने अभियानमा लाग्नुहोस् न । मान्छेलाई भयरहित बनाउने, एउटा सभ्य देश बनाउने अभियानमा लाग्नुहोस् न । किन तर्साउने अभियानमा लाग्नुहुन्छ ?’

आफूले विप्लवसँग छिट्टै वार्ता गर्न चाहेको भन्दै ओलीले भने, ‘सरकार तपाईंलाई साथ दिन तयार छ, यो सकारात्मक कदमका लागि । आउनुहोस्, वार्ता गरौं । म चाहन्छु, छिट्टै नै हाम्रो उहाँहरूसँग कुराकानी हुनेछ। र, उहाँहरूले पनि सही बाटो समाउनु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर