रंगशाला निर्माणमा धुर्मुसको घोषणाः ३० हजार कुर्सी प्रायोजन गर्न सकिने – Nepal Press

रंगशाला निर्माणमा धुर्मुसको घोषणाः ३० हजार कुर्सी प्रायोजन गर्न सकिने

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राखिने कुर्सीहरू प्रायोजन गर्न सकिने भएको छ ।

फाउन्डेसनले प्रत्येक कुर्सीलाई कुनै व्यक्ति वा संस्थाले एक लाखको दरले प्रायोजन गरेर त्यसमा आफ्नो नाम लेख्न सकिने आज घोषणा गर्‍यो ।

‘हाम्रो रंगशाला मेरो कुर्सी’ को अवधारणा आज सार्वजनिक गर्दै फाउन्डेसनले यसबाट रंगशाला निर्माणका लागि आर्थिक संकलनमा टेवा पुग्ने आशा व्यक्त गरेको छ । कार्यक्रममा वरिष्ठ हास्यकलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले फाउन्डेसनले अघिसारेको अवधारणाको प्रशंसा गरे । यसरी कुर्सी प्रायोजन गर्नेलाई रंगशालाप्रति अपनत्व महसुस हुने उनीहरुको भनाइ छ ।’

कार्यक्रममा तेक्वान्दो खेलाडी दिपक विष्टले भने, ‘यो कुर्सीको अवधारणा मलाई पनि निकै मन पर्‍यो । मैले केही साथीहरुसँग कुरा गर्दा उनीहरुले पनि कुर्सी प्रायोजन गर्न इच्छा देखाएका छन् ।’

रंगशालाका कुर्सी अनलाइनबाट बुक गर्न सकिने छ । रंगशालाको एप डाउनलोड गरेर आफूले चाहेको कुर्सी बुक गर्न सकिने बताइएको छ । प्रायोजन गरिएको कुर्सीमा आफ्नो वा संस्थाको नाम र ठेगाना उल्लेख गर्न सकिने छ । यो एप एक महिनाभित्रमा आउने कार्यक्रममा जानकारी दिइयो ।

सोही कार्यक्रममार्फत एक युवाले कुर्सी बुक गर्ने घोषणा गरे । साथै जिल्लावासीहरुसँगको सहकार्यमा रंगशालाका विभिन्न कक्षहरु पनि प्रायोजन गर्न सकिने कार्यक्रममा जानकारी दिइयो । रंगशालाका लागि ५० हजार रुपैयाँभन्दा बढी सहयोग गर्नेहरुको नामावली शिलालेखमा राखिने र त्यो भन्दा कम सहयोग गर्नेको नामाबली डिजिटल डिस्प्लेमा राखिने बताइएको छ ।

३ अर्ब रूपैयाँको लागत अनुमान गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकट रंगशाला अहिले निर्माणाधीन छ । आर्थिक वा अन्य कारणले कुनै व्यवधान नआएको खण्डमा अबको १८ महिनाभित्र रंगशाला निर्माण पूरा हुने कार्यक्रममा बताइयो । अहिलेसम्म प्याराफिट निर्माणको ३० प्रतिशत काम सकिएको जानकारी पनि गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर